कर्णाली

चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित



मुस्ताङ, २० मङ्सिर

अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै गएको छ । दिउँसो घाम लाग्दाको पारिलो समय केही न्यानो महशुस गरिए पनि बिहान र बेलुकीको समय चिसोले स्थानीयबासी तथा सुरक्षा निकाय र कर्मचारीको दैनिक जनजीवन कष्ठकर बन्न थालेको छ । माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण बिहान र बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष गुरुङका अनुसार अत्यधिक चिसोका कारण सिँचाइ कुलो, घरघरका धाराको पानी, शौचालयको सेफ्टी ट्याङ्की र शाखा नदीमा हिउँ जम्ने गरेको बताउनुभयो । वडाध्यक्ष गुरुङले भन्नुभयो, “धाराबाट पानी झर्न बन्द भयो, दिउँसो घाम लाग्दा कुलोको पानी तताएर खानुपर्ने अवस्था छ ।” घाम नलागेको अवस्थामा सिँचाइ कुलोको पानी ग्यास वा आगोमा तताएर खानुपर्ने बाध्यता रहेको वडाध्यक्ष गुरुङले बताउनुभयो । वडाध्यक्ष गुरुङले छोसेरमा खानेपानीका तीन ट्याङकी एकसाथ चालु राखिने भए पनि चिसोका कारण खानेपानीमा समस्या आएकाले आलोपालो सञ्चालन गर्न थालिएका बताउनुभयो । यसपालि हिउँदयामको चिसो सुरु भएसँगै कात्तिक अगावै माथिल्लो मुस्ताङका अधिकाँश नागरिक बेसी झरेका वडाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । गतवर्ष नाका पूर्ण रूपमा सञ्चालन नहुँदा यतिबेलासम्म गाउँका शतप्रतिशत नागरिक बेसी झर्ने गरेकामा यसपालि नाकाको व्यापारले करिव तीन सय बढी नागरिक यथास्थानमा बसेका वडाध्यक्ष गुरुङको भनाइइ छ । यसैगरी माथिल्लो मुस्ताङको लामान्थाङमा पनि चिसोले नागरिक धमाधम बेसी झर्न थालेका स्थानीय पर्यटन व्वयसायी राम गुरुङले जानकारी दिनुभयो । लोमान्थाङमा पर्यटक लक्षित करिव दुई दर्जन बढी होटल सञ्चालनमा रहेकामा दुइतिहाई बढी होटल बन्द गरी बेसी झरिसकेको पर्यटन व्यवसायी गुरुङको भनाइ छ । लोमान्थाङमा एक हप्ताभित्र सञ्चालनमा रहेका होटल पनि चिसोका कारण बन्द हुने बताउनुभयो । “माथिल्लो मुस्ताङमा न्यून पर्यटक आइरहेका छन्, तर चिसोले जाडो छल्न स्थानीय बेसी झरिसके र झर्ने क्रममा छन”, पर्यटन व्यवसायी गुरुङले भन्नुभयो, “स्थानीयवासी र पर्यटन व्यवसायी दुई महिनाका लागि धमाधम होटल बन्द गरेर बेसी झर्दैछन्, यहाँको जनजीवन पनि निकै कष्टकर भइरहेको छ ।” माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण सिँचाइ कुलो जमेर घाम लाग्दा सिँचाइको पानी बाहिर बग्ने भएको र यसले विपद् निम्त्याउन सक्ने भएकाले सिँचाइको पानीको मुहान बन्द गरिएको लोमान्थाङका वडाध्यक्ष ढुक्के विष्टले जानकारी दिनुभयो । माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण विकास निर्माणलगायतका काम पुरै रोकिएका वडाध्यक्ष विष्टको भनाइ छ । माथिल्लो मुस्ताङमा अत्यधिक चिसो बढेपनि माथिल्लो मुस्ताङका प्रहरी एकाइ बेसीमा मर्ज नहुने जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कोरलानाका सञ्चालनमा रहेका र भन्सार कार्यालयसमेत सञ्चालनमा रहेकाले सुरक्षा निकायले यथास्थान छोडेर जिल्ला मर्ज गर्न योजना नरहेको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार लोमान्थाङ गाउँपालिका अन्तर्गतका लोमान्थाङ, छोसेर र छोनुप र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गत चराङ, घमी र सुर्खाङका प्रहरी एकाइहरु हिउँदयामसमेत सोही स्थानमा रहेर सुरक्षा प्रदान गर्ने प्रहरी निरीक्षक बस्यालले बताउनुभयो । “भारी हिमपात र कुनै त्यस्तो विषम अवस्था आए मात्रै हामीले त्यहाँका एकाइलाई तल झाछौँ, चिसोकै कारण भनेर त्यहाँका प्रहरी एकाइलाई तल झार्ने कुनै योजना छैन”, प्रहरी निरीक्षक बस्यालले भन्नुभयो ।

प्रकाशित : २१ मंसिर २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६