लक्ष्मण प्रसाद बेल्बासे
बाणगंगा, २० मंसिर
बाणगंगा नगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१, ८२ को स्वास्थ्य वार्षिक प्रतिवेदनले नगरको स्वास्थ्य प्रणालीमा उल्लेखनीय सुधार देखाएको छ। सेवा प्रयोग, खोप, पोषण अनुगमन लगायतका सूचकमा प्रगति भए पनि मातृ–शिशु स्वास्थ्य, संस्थागत प्रसूति र वडागत असमानता भने अझै चुनौतीपूर्ण क्षेत्रका रूपमा पहिचान भएका छन्।
स्वास्थ्य सेवाप्रति जनविश्वास बढ्दै गएको छ । गत वर्षको तुलनामा बाणगंगामा नयाँ बिरामीको संख्या ६.६ प्रतिशतले बढेको छ। २०८०÷८१ मा ९९,२१७ जनाले नयाँ सेवा लिएका थिए भने २०८१÷८२ मा यो संख्या १०५,७५९ पुगेको छ। त्यस्तै, कुल बिरामी संख्या ११७,१७९ बाट १२६,४३४ पुगेको छ।
स्वास्थ्य शाखाका अधिकारीका अनुसार सेवा उपयोग बढ्नु जनविश्वास र पहुँच दुवै बढेको संकेत हो। तर यससँगै स्वास्थ्यकर्मी, औषधि आपूर्ति र उपकरणमा थप दबाब पर्न थालेको विश्लेषण प्रतिवेदनले गरेको छ।
खोप कवरेजमा प्रगति, तर असमानता थप चुनौतिपूर्ण देखा परेको छ । ११ वटा स्वास्थ्य संस्थाबाट १,४२४ बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। सबैभन्दा धेरै खोप लगाउने स्वास्थ्य संस्था मोतिपुर स्वास्थ्य चौकी (वडा ८) हो, जहाँ २०१ बालबालिकाले पूर्ण खोप पाएका छन्। तर सिउटी स्वास्थ्य केन्द्र (वडा ३) मा यो संख्या ६० मात्र रहेको छ।
यसले वडागत खोप असमानता घटाउन विशेष अभियान तथा लक्ष्यित कार्यक्रम आवश्यक रहेको देखाएको छ। मातृ–शिशु स्वास्थ्यः गर्भजाँचमा प्रगति, प्रसूति संस्थागत नहुँदा जोखिम कायम रहेको छ ।
नगरका ६५ प्रतिशत गर्भवती महिलाले पहिलो गर्भजाँच गराएका छन् भने ६६ प्रतिशतले निर्धारित चारपटकसम्म जाँच गराएका छन्।
तर संस्थागत प्रसूति दर २४.६ प्रतिशत मात्र रहेको छ, जुन जोखिम न्यूनिकरणका हिसाबले अपर्याप्त मानिन्छ।
गाउँ–वस्तीका महिलामा घरमै प्रसूति गर्ने परम्परा, आर्थिक अवस्था र यातायात अभावले प्रभाव पारिरहेको प्रतिवेदनमा उल्लेख छ।
क्षयरोग र कुष्ठरोग नियन्त्रणमा सुधार देखा परेको छ । २०८०÷८१ मा १५३ नयाँ क्षयरोगका बिरामी दर्ता भएका थिए भने २०८१÷८२ मा यो संख्या १५२ मा घटेको छ। कुष्ठरोगका बिरामी भने २४ बाट घटेर ५ मात्र दर्ता भएका छन्।
यो नियमित निगरानी तथा सक्रिय रोग नियन्त्रण अभियानको सफल परिणाम मानिएको छ।
पोषण सूचकमा उत्साहजनक सुधार देखा परेको छ। पोषण अनुगमन सेवा १,६३२ बाट बढेर १,९२९ पुगेको छ, जसले करिब १८ प्रतिशत प्रगति देखाउँछ। बालबालिकामा तौल–मापन, पोषण साक्षरता तथा परिवारको सचेतनामा वृद्धि भएको अनुमान गरिएको छ। बाणगंगा नगरपालिकाका ३ वटा वडा पूर्ण पोषण–मैत्री वडाका रूपमा घोषणा भएका छन्।
नगरभित्रका ५ वटा स्वास्थ्य संस्था पनि पूर्ण पोषण–मैत्री घोषित भएका छन्। त्यसैगरी वडा नं. २ लाई पूर्ण पोषण–मैत्री तथा पूर्ण सरसफाइयुक्त वडाका रूपमा घोषणा गरिएको छ।
नगरपालिकाले आफ्नो आगामी प्राथमिकतामा प्रतिवेदनका आधारमा आगामी वर्ष लागू गर्ने प्रमुख कार्यसूची संक्षेपमा
कम खोप कवरेज भएका क्षेत्रमा मोबाइल खोप शिविर संचालन, संस्थागत प्रसूति वृद्धि गर्न प्रोत्साहन योजना र यातायात सहयोग, ओपीडी सेवा सुदृढीकरण, विद्यालय तथा समुदायमा पोषण शिक्षा विस्तार, डेटा प्रणाली सुधार र नियमित रोग निगरानी, स्वास्थ्य सन्देश प्रसारणका लागि स्थानीय सञ्चार माध्यमको प्रयोग ।








प्रतिक्रिया