काठमाडौँ, २१ मङ्सिर, रासस
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ ।
युनियनका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी सरकारले वैदेशिक रोजगारीमा जाँदा श्रमिकहरुले अनिवार्य रूपमा गर्नुपर्ने स्वास्थ्य परीक्षण र सोबापत तिर्नुपर्ने मेडिकल शुल्कमा एक्कासी झण्डै ५० प्रतिशत वृद्धि गरेको भन्दै ध्यानाकर्षण भएको बताउनुभयो ।
नेपाल ट्रेड युनियन कांग्रेसले स्वदेशमा पर्याप्त रोजगारीको अभाव र बढ्दो बेरोजगारीको अवस्थालाई न्यूनीकरण गर्ने बाध्यात्मक विकल्पका रुपमा रहेको वैदेशिक रोजगारीले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएकामा विदेशमा जाने गरिब तथा विपन्न श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउनु दुःखद् भएको जनाएको छ ।
युनियनले वैदेशिक रोजगारीलाई मर्यादित एवं व्यवस्थित तुल्याउने, नेपालमै रोजगारीको वातावरण सिर्जना गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा योजना र सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारमा जाने श्रमिकबाट नियमित योगदान गर्ने वातावरण सिर्जना गर्ने र त्यसमा राज्यबाटसमेत योगदान गर्ने, उनीहरूलाई सम्बन्धित मुलुकको कार्यस्थलमार्फत नै मताधिकारको व्यवस्था मिलाउने तथा श्रमिकमैत्री नीतिनिर्माण कार्य गर्नुको सट्टा श्रमिकको मौलिक हक र मान्यताविपरीत वैदेशिक रोजगारीमा जाने श्रमिकबाट उल्टै चर्को शुल्क असुलउपर गरिनु कदापि न्यायोचित नभएको बताएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसले स्वास्थ्य व्यवसायीहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकबाट स्वास्थ्य परीक्षण शुल्कबापत साविकमा रु तीन हजार ५०० देखि बढीमा रु छ हजार ५०० सम्म लिने गरिएकामा, हाल मुलुक राजनीतिक सङ्क्रमणकालबाट गुज्रिरहेको र सम्बन्धित श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा प्रत्यक्ष जिम्मेवारीमा कुनै पनि विभागीय मन्त्रीसमेत नतोकिएको मौका छोपेर स्वार्थ समूह एवं कथित व्यवसायीको मिलोमतोमा गरिएको शुल्क वृद्धिले श्रमिक प्रत्यक्ष मारमा परेको जनाएको छ ।
उक्त शुल्क वृद्धिले श्रमिक गरिब तथा विपन्न नागरिकमाथि थप आर्थिक भार थुपरिने हुँदा उक्त शुल्क वृद्धि फिर्ता लिनसमेत युनियनले सरकासँग माग गरेको छ । यसअघि सरकारले गत चैत ८ गते साविक स्वास्थ्य परीक्षण शुल्कमा वृद्धि गरी रु नौ हजार ५०० पु¥याउने गरी गरिएको तत्कालीन मन्त्रिस्तरीय निर्णयको चौतर्फी विरोध भएपछि कार्यान्वयन नभएको स्मरणसमेत युनियनले गरेको छ ।








प्रतिक्रिया