देवदह (रुपन्देही), २३ मङ्सिर
चेम्बर अफ कमर्स तथा उद्योग व्यापार सङ्गठन, रुपन्देहीको आयोजनामा भैरहवामा सञ्चालित सातौँ लुम्बिनी महोत्सव सम्पन्न भएको छ । उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । ‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजारको प्रवर्द्धन गरौँ, स्वदेशी वस्तुको प्रयोग गरौँ, स्वाभिमानी नेपालीको पहिचान बनाऔँ’ भन्ने मूल नाराका साथ यही मङ्सिर ३ देखि सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा सञ्चालित महोत्सव मङ्सिर २१ गते समापन भएको हो । महोत्सवमा करिब रु १२ करोड बराबरको कारोबार भएको जिल्लास्थित चेम्बर अफ कमर्सका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव एक लाख २० हजार दर्शकले अवलोकन गरेका छन् । संयोजक सचिन रोक्काले आगामी दिनमा यस्ता महोत्सव सरकारले स्वामित्व लिएर आयोजना गर्नुपर्नेमा जोड दिँदै त्यसमा निजी क्षेत्र सहभागी हुने बताउनुभयो । “महोत्सव सञ्चालनका लागि ठूलो रकम अस्थायी संरचना निर्माणमा खर्चिनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “स्थायी संरचना निर्माणमा सरकारले ध्यान दिनुपर्छ ।” अध्यक्ष रोक्काले भारतीय पर्यटकको सङ्ख्या बढाउन र धेरै खर्च गर्ने वातावरण बनाउन कम्तीमा १० लाख भारु रुपैयाँ लिएर नेपालमा आउन दिनुपर्ने माग गर्नुभयो । संस्थाका वरिष्ठ उपाध्यक्ष राममिलन यादवले महोत्सव सफल बनाउन साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । उहाँले चेम्बर अफ कमर्स निजी क्षेत्रको क्रियाशील र सशक्त संस्था भएको बताउनुभयो । महोत्सवको एक समारोहकाबीच समापन गरिएको छ । समारोहमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले मण्डप बनाउनु ठूलो कुरा नभए पनि मण्डप निर्माणपछि महोत्सवबाहेक अन्यबेला स्थान कत्तिको प्रयोग हुन्छ भन्नेतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो । “मण्डप बनाएपछि वर्षमा एकपटक महोत्सव सञ्चालन गरेर मात्रै पुग्दैन, अन्य कार्यक्रम पनि गरिरहनुपर्छ”, उहाँले भन्नुभयो । मन्त्री कार्कीले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडानका लागि प्रदेशस्तरबाट पहल भइरहेको बताउनुभयो । नेपालमा सयभन्दा ठूला दरका भारु नोट चलाउन भारतीय केन्द्रीय बैंक स्वीकृति दिनु खुसीको विषय भएको उहाँको भनाइ छ । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरण प्रसाद कलवारले मण्डपको समस्या समाधानका लागि अघि बढ्न अर्थमन्त्री धनेन्द्र कार्कीलाई आग्रह गर्नुभयो । उहाँले मन्त्री कार्कीलाई भन्नुभयो, “यो समस्या समाधान गर्न म आग्रह गर्दछु, हामीले के गर्नुपर्छ, यहाँलाई साथ दिन्छौँ ।” युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयले अहिलेको पिँढीले मुलुकमा परिवर्तन ल्याउने विश्वासका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन र खेलकुदमार्फत मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान सकिने धारणा राख्नुभयो । मन्त्री पाण्डेयले महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्याएको बताउनुभयो । नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशका अध्यक्ष टङ्कप्रसाद पोखरेलले हरेक हिसाबले सातौँ लुम्बिनी महोत्सव सफल भएको बताउनुभयो । उहाँले निजी क्षेत्रको मनोबल उठाउनुपर्नेमा जोड दिनुभयो । चेम्बर अफ कमर्स, रुपन्देहीका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारीले भैरहवामा स्थायी मण्डपको अत्यन्तै आवश्यकता रहेको बताउनुभयो । उहाँले यसमा प्रदेश सरकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । संस्थाका निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठले महोत्सवमा दर्शकको निःशुल्क प्रवेशका लागि स्थायी मण्डपको व्यवस्था हुनुपर्ने बताउनुभयो । पूर्वअध्यक्ष अनिलकुमार ज्ञवालीले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालनका लागि समग्र लुम्बिनी प्रदेशले नेतृत्व गर्नुपर्ने बताउनुभयो । यसपटकको महोत्सवको मुख्य आकर्षण नेपालमै पहिलोपटक भियतनामबाट ल्याइएको जलपरी र फिस टनेल थिए । यस्तै, महोत्सवमा राष्ट्रिय, घरेलु तथा साना उद्योगको उत्पादन, अटो, बैंक तथा वित्तीय संस्थालगायतको प्रवर्द्धन गरिएको थियो । महोत्सवले भैरहवा र यस आसपासको बजार चलायमान बनाउन कोशेढुङ्गा सावित भएको आयोजकको दाबी छ । महोत्सवमा ३०० स्टल रहेका थिए । —
Powered By Orson Infotech








प्रतिक्रिया