खोज–अनुसन्धान

दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै



गलकोट (बागलुङ), २५ मङ्सिर

एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक गर्ने आन्तरिक पर्यटकको सङ्ख्या एक वर्षमै २० हजार पुगेको छ । यहाँको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारस्थित दरबारको संरक्षणसँगै दरबार क्षेत्रलाई थप सौन्दर्य बनाएपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । दरबार संरक्षण अभियानमा लागिरहनुभएका मन्जेस बम मल्लका अनुसार दरबारको सौन्दर्यीकरण र यहाँ खाने तथा बासोबासको व्यवस्थापनसमेत भएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो । द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका सन्तान विस्थापित भएपछि जीर्ण भएको दरबार हाल पुरानै स्वरुपमा फर्काइएको छ । दरबारका झ्यालढोका पुरानै स्वरुपमा बनाइएका छन् भने रङरोगन र मर्मतपछि चिटिक्क बनाइएको छ । दरबार क्षेत्रमै तीन वर्षदेखि रेष्टुराँ सञ्चालनमा ल्याइएको छ । दरबार क्षेत्रमा रहेको पुरानो घर र गोठलाई मौलिक रूपमा पुनर्निर्माण गरी रेष्टुराँ सञ्चालनमा ल्याइएको हो । गलकोट राज्य सञ्चालन भएको जीवित इतिहास रहेको दरबार संरक्षणसँगै पर्यटक आर्कषण गर्ने प्रमुख माध्यम बनेको तत्कालीन राजा भरतबम मल्लका नाति मञ्जेश बम मल्लले बताउनुभयो । उहाँले पुर्खाको नासोलाई संरक्षण गरेर पर्यटक लोभ्याउने नीतिअनुसार काम गर्दा गत वर्ष मात्र २० हजारले दरबार अवलोकन गरेको बताउनुभयो । दरबारमा तस्बिर खिच्न, भिडियो बनाउन, अध्ययन तथा अवलोकन गर्न आउनेको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको मल्लले जानकारी दिनुभयो । मल्लसहितका चार युवाले रु ५० लाख लगानीमा यहाँ रेष्टुराँ सञ्चालनमा ल्याउनुभएको छ । दरबार परिसरमा माछापोखरी बनाएर विभिन्न प्रजातिका माछा पाल्न थालिएको छ । उक्त गलकोट दरबार र वरपरको जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ । विसं २०३९ मा राजा भरतबमको निधन भएको थियो । राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधव मल्ललाई दिइएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्ल द्वन्द्वको समयमा सोही दरबारमै मारिनुभएको थियो । विसं २०५९ वैशाखमा भएको हत्यापछि मल्ल परिवार त्यहाँबाट विस्थापित भएर काठमाडौँमा बस्न थालेपछि दरबार जीर्ण बनेको थियो । पछिल्लो समय नाति मन्जेशले दरबारको संरक्षण गरेपछि पर्यटकहरू आउने क्रम क्रमशः बढिरहेको छ ।

प्रकाशित : २६ मंसिर २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६