बाणगंगा, २५ मंसिर
लामो समयदेखि अपेक्षित बनगाइ ९डोहाटे० सडक खण्ड अन्तर्गत वाणगंगा नगरपालिका–७ को बनगाइ–मोतिपुर–कपिलधाम सडक निर्माण तीव्र गतिमा अगाडि बढेको छ। एन बी इन्द्रेणी जेसी कन्स्ट्रक्सन कम्पनी बुटवलले जिम्मा लिएर बनाइरहेको उक्त सडकको काम समय भन्दा अगाडी नै सम्पन्न गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका सञ्चालक नारायण भुसालका अनुसार बनगाइको सिमाना हुँदै मोतिपुर मार्ग हुँदै कपिलधामको दोस्रो पुलसम्म २ हजार ३०० मिटर लम्बाइ र १३ मिटर चौडाइको सडक एकैपटक दुबै तर्फ नालीसहित निर्माण भइरहेको छ। ६ करोड ६५ लाख रुपैयाँको लागतमा बन्ने यो सडक २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य भए पनि कम्पनीले संझौता सिमा अगाडी नै काम सक्ने प्रतिबद्धता व्यक्त गरेको छ।

भुसालका अनुसार सडक निर्माणका सबै चरणमा द्रुत र गुणस्तरीय काम भइरहेको छ। “हामीले समय भन्दा अघि, गुणस्तरमा कुनै सम्झौता नगरी काम गर्ने लक्ष्य लिएका छौँ,” भुसालले बताए।
यही कम्पनीले यसअघि कोइली खोलाको मोटरेबल पुल २ वर्षको समय सीमा हुँदाहुँदै केवल ९ महिनामै सम्पन्न गरेको थियो। उक्त सफलतापछि सञ्चालक भुसाल राष्ट्रिय स्तरमै चुस्त, इमानदार र समयमै काम सम्पन्न गर्ने ठेकेदारका रूपमा परिचित बनेका छन्।
स्थानीयहरूका अनुसार सडक निर्माणले वडाभित्र यातायात, व्यापार र धार्मिक पर्यटन विस्तारमा महत्वपूर्ण योगदान पुर्याउनेछ। यसरी ठेकेदारले समयमै, गुणस्तरपूर्वक काम गरेको उदाहरणले निर्माण व्यवसायमै सकारात्मक सन्देश दिएको छ।
राज्यले समयमै काम सम्पन्न गर्ने इमानदार ठेकेदारलाई प्रोत्साहन र सम्मान गर्नुपर्छ भन्ने आवाज पनि स्थानीयमा उठ्न थालेको छ।








प्रतिक्रिया