देश

सञ्चारमन्त्री खरेलको पहल : यसरी सम्भव भयो पत्रकार सुरेश रजकलाई सहिद घोषणा



काठमाडौँ, २६ मङ्सिर

विसं २०८१ चैत १५ गते चन्द्रागिरिस्थित निवासमा पाँचारे भोजका लागि बिहानैदेखि घरमा चहलपहल थियो । भोजमा सबै परिवार र आफन्तलाई निमन्त्रणा गरिएको थियो । एभिन्यूज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजक भने हरेक दिनझैँ आफ्नो कार्ययोजनाबारे श्रीमती सुजन मगियालाई जानकारी गराउँदै तीनकुनेमा आयोजना हुने राजतन्त्र समर्थकहरूको विरोध प्रदर्शनको श्रव्यदृश्य कैद गर्न घरबाट निस्किनुभएको थियो । बिहान सवा ६ बजे घर छाड्दा सुरेशले श्रीमतीलाई भन्नुभएको थियो, “म आन्दोलनमा जाँदैछु, जात्राको पनि फोटो–भिडियो खिचेर चाँडै फर्किन्छु ।” सुजनले पनि आफ्ना श्रीमान सुरेशलाई भन्नुभएको थियो, “आन्दोलनको अगाडि–अगाडि नजानु है, चाँडै फर्कनु ।” तर यही संवाद दम्पतीबीचको अन्तिम कुराकानी बन्न पुग्यो । सुजनका अनुसार सुरेशलाई कामप्रति अतुलनीय लगाव थियो । त्यस दिन उहाँको अनुहार केही मलिन देखिएको सुजनले सम्झिइन् । एभिन्यूजमा कार्यरत भान्जा राजेश रजकले ‘किन यति थकित ?’ भनेर सोध्दा सुरेशले ‘रातभर ननिदाएको’ जवाफ दिनुभएको रहेछ । सुजन भन्नुहुन्छ, “उहाँ हरेक दिन घरबाट निस्कँदा टर्निङमा पुगेर टाउको हल्लाएर बिदाइ सङ्केत गर्नुहुन्थ्यो । तर त्यो दिनको बिदाइ अन्तिम रहेछ ।” सुरेशले आगलागीमा परेर ज्यान गुमाउनुभयो । तीनकुनेमा प्रदर्शन उग्र बन्दै गइरहेको थियो । सुरेशका दाइ दिनेश रजकसमेत प्रदर्शनस्थल नजिकै दृश्य कैद गर्दै हुनुहुन्थो । झडपपछि प्रदर्शनकारीले नजिकैको घरमा आगो लगाइदिए । भित्रको अवस्थाबारे कसैलाई थाहा थिएन । दिनेश भन्नुहुन्छ, “मैले बाहिरबाटै आगलागीको दृश्य खिचिरहेको थिएँ । सुरेश त्यही घरभित्र जलेका रहेछन् भन्ने थाहा नै भएन ।” पहिलो दमकलले आगो नियन्त्रण गर्न सकेन । त्यसपछि थप दमकल आउँदा मात्र आगो निभाइयो । अनुसन्धानमा पछि खुल्यो– दृश्य कैद गर्ने क्रममा सुरेशको सोही जलेको घरभित्र अड्किएर मृत्यु भएको रहेछ । सरकारको निर्णय : सहिद घोषणा दिवङ्गत पत्रकार सुरेशलाई यही मङ्सिर २२ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राज्यका तर्फबाट सहिद घोषणा गरेको छ । तीनकुनेको प्रदर्शनका क्रममा श्रव्यदृश्य कैद गर्दागर्दै मृत्यु भएका पत्रकार सुरेशलाई सहिद घोषणा गर्न उहाँको परिवारले माग गर्दै आएको थियो । यो निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको विशेष पहलमा सम्भव भएको परिवारजन बताउँछन् । सुजन मगिया भन्नुहुन्छ, “सहिद घोषणाले सुरेशले न्याय पाएको अनुभूति भयो । यसका लागि सरकार र मन्त्री खरेलप्रति आभार व्यक्त गर्छु ।” सात महिनासम्म न्याय खोज्दा निराश थियौँ तर नयाँ सरकारबाट आशा जगायो उहाँ भन्नुहुन्छ । “ परिवारले करिब सात महिना विगतका सरकार र सम्बन्धित निकाय धाउँदै न्यायको माग गरे तर सुनुवाइ भएन”, सुजन भन्नुहुन्छ, “अघिल्लो सरकारलाई धेरैपटक गुहार्न गयौँ, तर आश्वासनबाहेक केही पाइएन । अहिलेको सरकारले भने छोटो समयमा हाम्रो पीडा सुनेर न्याय दियो ।” उहाँका अनुसार मानवअधिकारवादी संस्थाहरूसँग पनि सहयोग माग्दा निराशामात्र हात परेको थियो । दिवङ्गत पत्रकार सुरेशका आफन्त पुरुषोत्तम मगियाले पनि सरकारले पत्रकार सुरेशलाई सहिद घोषणा गरेर न्याय दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको निर्णय स्वागतयोग्य छ, सञ्चारमन्त्री स्वयंले पेसागत जिम्मेवारी निर्वाहका क्रममा मृत्यु भएका पत्रकार सुरेशलाई सहिद घोषणा गर्ने कार्यलाई चासो लिएर पहलकदमी गरिदिनुभयो । उहाँको यस कार्यप्रति रजकको परिवार आभारी छ ।” सञ्चारमन्त्रीको सक्रियता मन्त्री खरेलले गृह मन्त्रालयसँग निरन्तर समन्वय गर्दै, प्रधानमन्त्री र अन्य मन्त्रीहरूलाई विषयमा जानकारी गराउँदै सहिद घोषणाको प्रक्रिया अघि बढाउनुभएको थियो । यसभन्दा अघि पनि मन्त्रालयले सुरेशकी श्रीमती सुजनलाई सुरक्षण मुद्रण केन्द्रमा ‘कम्प्युटर अपरेटर’का रूपमा रोजगारीको व्यवस्था मिलाइसकेको छ । सञ्चारमन्त्रीकै पहलमा सुरेशको परिवारले घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन र दोषीमाथि कारबाहीको माग पुनः दोहोर्याएका छन् । उनीहरू विश्वासका साथ भन्छन्, “हाम्रो बाँकी माग पनि यही सरकारले मात्र पूरा गर्छ भन्ने आशा छ ।” सुरेशका दाइ दिनेश र अन्य आफन्तले पनि सरकारको निर्णयको स्वागत गर्दै मन्त्री खरेलको पहलप्रति आभार व्यक्त गरेका छन् । —

Powered By  Orson Infotech

प्रकाशित : २७ मंसिर २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६