कपिलवस्तु २९ मंसिर
“कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी, युवाको हातमा सुनौलो बिहानी” भन्ने मूल नाराका साथ मंसिर १८ गतेदेखि बाणगंगा नगरपालिका–स्थित बुद्ध रंगशालामा सुरु भएको १६ औँ कपिलवस्तु महोत्सव, कृषि–पर्यटन तथा औद्योगिक प्रदर्शनी दर्शकको उत्साहजनक उपस्थितिसँगै उत्सवमय बन्दै गएको छ।
बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा सञ्चालन भइरहेको महोत्सवमा शनिबार चर्चित गायिका समीक्षा अधिकारी, राष्ट्रिय गायक संविज सिंह राना, गायिका तथा कार्यक्रम सञ्चालिका शोभा त्रिपाठी, नेपालमै चर्चित सिन्धुलीको नौमती बाजा, १४औँ कपिलवस्तु डान्स आइडलका प्रतियोगी तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने महोत्सवका निर्देशक बुद्धिबहादुर रोकाहाले जानकारी दिनुभयो।
यसैबीच १४औँ कपिलवस्तु डान्स आइडल प्रतियोगिता रोमाञ्चक मोडमा पुगेको छ। शुक्रबार सम्पन्न प्रतिस्पर्धामा दर्शकबाट प्राप्त ५० प्रतिशत भोट र निर्णायक मण्डलबाट प्राप्त ५० प्रतिशत अंकको आधारमा भएको कडा प्रतिस्पर्धामा प्रतियोगी नम्बर ६ रञ्जिता क्षेत्री बाहिरिएकी छन्।
प्रमुख निर्णायक हरिशरण रिजालका अनुसार शुक्रबार ८ जना प्रतियोगीले आ–आफ्नो बेजोड नृत्य कला प्रस्तुत गरेका थिए। क्षेत्री बाहिरिएपछि अब आइडलको ताजका लागि ७ जना टप प्रतियोगीहरूबीच कडा प्रतिस्पर्धा हुने भएको छ। डान्स आइडलको फाइनल अडिसनबाट १५ जना प्रतियोगी स्टेजमा पुगेका थिए।
शनिबार प्रतियोगी नम्बर १ ओजस्वी क्षेत्री, २ सचिन परियार, ७ गिताञ्जली मगर, ९ समृद्धि पन्त, १० अपराजिता घिमिरे, ११ अर्पिता पोख्रेल र १३ खुसी थारुबीच रोमाञ्चक प्रतिस्पर्धा हुने १४औँ कपिलवस्तु डान्स आइडल संयोजक पदम सेनले जानकारी दिनुभयो।
डान्स आइडल प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ३१ हजार १ सय ३१ नगदसहित चाँदीको टोपी, द्वितीय पुरस्कार ८१ हजार १ सय ८१, तृतीय पुरस्कार ६१ हजार १ सय ६१ तथा सान्त्वना पुरस्कार ३१ हजार १ सय ३१ नगदसहित मेडल, प्रमाणपत्र र आकर्षक गिफ्ट प्रदान गरिनेछ। साथै उत्कृष्ट ४ प्रतियोगीलाई राष्ट्रियस्तरको म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत प्रदान गरिनेछ।
हरेक प्रस्तुतिमा निर्णायक र दर्शकको मन जित्नुपर्ने दबाबका बीच बाँकी रहेका प्रतियोगीमध्ये कसले १४औँ संस्करणको कपिलवस्तु डान्स आइडलको ताज पहिरिने हो भन्ने नतिजा पुस १ गते घोषणा नहुँदासम्म दर्शकमा उत्कट जिज्ञासा र उत्सुकता कायम रहने देखिन्छ।
यसैबीच महोत्सवमा शुक्रबारदेखि पहिलो पटक ‘मम्मी डान्स प्रतियोगिता’ पनि सुरु गरिएको छ। प्रतियोगितामा प्रारम्भिक चरणमा ३० जना अडिसन सहभागीमध्ये १० जना प्रतियोगी स्टेजमा छनोट भई आ–आफ्नो नृत्य प्रस्तुत गरेका थिए, जसले दर्शकको विशेष आकर्षण पाएको आयोजकले जनाएको छ।








प्रतिक्रिया