देश

घोराही–तुलसीपुर चारलेन सडक विस्तारका लागि सडक सीमा खाली गर्न अनुरोध



घोराही, २९ मंसिर

दाङको घोराही–तुलसीपुर सडकखण्डको सीमाभित्र पर्ने क्षेत्र खाली गर्न सडक डिभिजन कार्यालय दाङले सम्बन्धित सबैलाई अनुरोध गरेको छ । चारलेन सडक विस्तार तथा स्तरोन्नति कार्यमा अवरोध सिर्जना भएको जनाउँदै कार्यालयले सार्वजनिक सूचना जारी गरी सडक सीमाभित्र रहेका संरचना तथा सामग्री हटाउन आग्रह गरेको हो ।

सडक डिभिजन दाङका प्रमुख दिपेन्द्र विष्टका अनुसार सडक निर्माण क्षेत्रभित्र सवारी साधन पार्किङ गर्ने, व्यापारिक मालसामान राख्ने, निर्माण सामग्री थुपार्ने, सडक किनारमा खुद्रा व्यापार सञ्चालन गर्ने तथा अस्थायी संरचना निर्माण गर्ने गतिविधिका कारण निर्माण कार्य प्रभावित हुँदै आएको छ ।

सूचनामा सडकको केन्द्र रेखादेखि दायाँ–बायाँ १५/१५ मिटर क्षेत्रभित्र पर्ने सम्पूर्ण संरचना र सामग्री १५ दिनभित्र हटाउन आग्रह गरिएको छ । तोकिएको समयसीमाभित्र सडक सीमा खाली नगरिए कार्यालय आफैंले संरचना हटाउने प्रमुख विष्टले जानकारी दिनुभयो ।

घोराही–तुलसीपुर चारलेन सडक विस्तारअन्तर्गत घोराही उपमहानगरपालिका–१५ स्थित डिके पेट्रोल पम्पदेखि तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवासम्म करिब साढे २१ किलोमिटर सडक खण्डमा निर्माण गरिएका संरचनासँगै ९९३ वटा विद्युत् पोल र ११६ वटा रुख हटाउनुपर्ने अवस्था छ ।

सडक निर्माणको जिम्मा पाएको दिवा–वन्दना भगवती जेभीले घोराही सडकखण्डअन्तर्गत गुर्जेखोलादेखि हापुरखोलासम्म पहिलो चरणमा काम गरिरहेको छ ।

२०८२ असार २४ गते भएको ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले २०८५ असार २४ गतेसम्म सडक विस्तारको काम सम्पन्न गर्नुपर्नेछ । दुई अर्ब ५३ करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको उक्त आयोजनाको काम तीव्र रूपमा अघि बढाइएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।


प्रकाशित : २९ मंसिर २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६