जीवनशैली

विसं २०८३ को पात्रोको गणना कुन ग्रन्थका आधारमा गर्ने यसै हप्ता निर्णय हुने



काठमाडौँ, २९ मङ्सिर 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८३ को पात्रो केतकी वा सूर्य सिद्धान्त कुन ग्रन्थका आधारमा गणना गर्ने भन्ने निर्णय यसै साता गरिने जनाएको छ ।

समितिले आज यहाँ आयोजना गरेको नयाँ पदाधिकारीहरूको परिचयात्मक र पूर्व पदाधिकारीलाई धन्यवाद तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले केतकी र सूर्य सिद्धान्तका आधारमा गणित गर्दा आउने फरकलाई हेरेर निर्णय गरिने जानकारी दिनुभएको हो । दुई ग्रन्थका आधारमा गरिएको गणितमा आफूले छ घण्टासम्मको फरक पाएको उहाँले सुनाउनुभयो । यसको निर्णयका लागि यसै हप्ता पञ्चाङ्गकारसँग बैठक गरिने समितिले जनाएको छ ।

 “सिद्धान्त ज्योतिषका विद्वान् नयराज पन्तले ग्रहण र ग्रहको उदयास्त दृक गणित र पञ्चाङ्ग (पात्रो) सूर्य सिद्धान्तका आधारमा गर्नुपर्ने भन्नुभएको थियो, यो नै सही हो भन्ने मलाई लाग्छ, समितिमा आगामी वर्षका लागि स्वीकृति लिन पेस भएका पञ्चाङ्ग सूर्य सिद्धान्त र केतकी दुवै आधारमा गणना भई आएका छन्”, अध्यक्ष ढकालले भन्नुभयो । 

 समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले ग्रह गणितबाहेकका विषय शास्त्रीय आधारमा निर्णय गर्ने गरिएको बताउनुभयो । सूर्यास्तकालमा औँसी भएका दिन लक्ष्मीपूजाको निर्णय गर्दा कुकुर तिहारका दिन पनि पर्ने गरेको बताउनुहुँदै उहाँले शास्त्रले भनेका आधारमा नै यस्तो निर्णय हुने गरेको जानकारी गराउनुभयो । 

 अर्का पूर्वअध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले सूर्य सिद्धान्तबाट ग्रहण, उदयास्त, ग्रहको वक्री मार्गी अवस्था आदि नमिल्ने गरेको सुनाउनुभयो । भारतीय ज्योतिषीले सूर्य सिद्धान्तबाट नमिल्ने गरेको सुनाएको उहाँले कार्यक्रममा जानकारी गराउनुभयो । (रासस)

प्रकाशित : ३० मंसिर २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६