कपिलवस्तु ८, पुस
बुद्धभूमि नगरपालिका र कपिलवस्तु नगरपालिकाको सीमानामा पर्ने वाणगंगा नदी क्षेत्रबाट नदिजन्य पदार्थको उत्खनन, संकलन तथा निकासी कार्यलाई व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढाउने उद्देश्यले दुवै नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
वाणगंगा नदी अन्तर्गत तिलौरी घाट, रामघाट, मलवाघाट, पिपरहवा, रामजानकी मन्दिर र गगनी क्षेत्र आसपासका नदीजन्य पदार्थ व्यवस्थापनका लागि ठेक्का बन्दोबस्त गर्ने विषयमा दुवै पक्ष सहमत भएका हुन्। समझदारी पत्रमा उल्लेख गरिएका शर्तहरूको अधिनमा रही ठेक्का प्रक्रिया अगाडि बढाइने जनाइएको छ।
समझदारी अनुसार नदिजन्य पदार्थ व्यवस्थापन सम्बन्धी ठेक्का सूचना कपिलवस्तु नगरपालिकाबाट प्रकाशन गरिनेछ भने नदिजन्य पदार्थको रोयल्टी तथा राजस्व संकलन कपिलवस्तु नगरपालिकाले गर्ने व्यवस्था गरिएको छ। संकलित राजस्वमध्ये प्रारम्भिक वातावरणीय अध्ययन ९क्ष्भ्भ्० मा उल्लेखित परिमाणका आधारमा बुद्धभूमि नगरपालिकाको हिस्सा सुनिश्चित गरिनेछ।

संझौता पत्रमा नदिजन्य पदार्थ बिक्रीबाट प्राप्त कुल कबोल अंक मूल्य अभिवृद्धि कर बाहेक को आधारमा २०८२ जेठ मसान्तभित्र बुद्धभूमि नगरपालिकालाई लुम्बिनी प्रदेशमा बाँडफाँडपछि प्राप्त हुने रकम उपलब्ध गराइने उल्लेख छ। साथै प्रशासनिक व्यवस्थापन, सूचना प्रकाशन तथा मूल्याङ्कनमा लाग्ने खर्च कट्टा गरी बुद्धभूमि नगरपालिकाले प्राप्त गर्ने रकमको १० प्रतिशत कपिलवस्तु नगरपालिकालाई उपलब्ध गराइने सहमति भएको छ।
दुवै नगरपालिकाबीच उत्पन्न हुन सक्ने कुनै पनि विवाद आपसी समझदारीमार्फत समाधान गर्ने विषय पनि संझौता पत्रमा समावेश गरिएको छ।
समझदारी पत्रमा बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ र कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले हस्ताक्षर गर्नु भएको छ । संझौता प्रक्रियामा दुवै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको समेत साक्षी रहेको छ।
स्थानीय तहबीचको यस सहकार्यले नदीजन्य पदार्थको व्यवस्थित उपयोग, राजस्व अभिवृद्धि र वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया