नारायणगढ (चितवन), १३ पुस
चितवनमा पहिलोपटक ज्येष्ठ नागरिकका लागि डे–केयर तथा आवास केन्द्र सञ्चालनमा आएको छ । आरोग्य केयरले भरतपुर महानगरपालिका–११ नौरङ्गेमा उक्त केन्द्र स्थापना गरी सेवा सुरु गरेको हो । केन्द्रले प्रारम्भिक चरणमा १५ ज्येष्ठ नागरिकलाई आवासीय सेवा प्रदान गर्नेगरी सेवा सुरु गरेको छ । यहाँ फिजियोथेरापीसहित विभिन्न स्वास्थ्य सेवा, मनोरञ्जनात्मक कार्यक्रम तथा सामाजिक क्रियाकलाप प्रदान गरिने केन्द्रका अध्यक्ष हिरामान महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केन्द्र स्थापना गर्नुको मुख्य उद्देश्य ज्येष्ठ नागरिकको स्वास्थ्य, मनोरञ्जन र सामाजिक सहभागितालाई प्रोत्साहन गर्नु हो ।” ज्येष्ठ नागरिकलाई परिवार बाहिर पनि सामाजिक तथा मानसिक रूपमा सक्रिय रहन सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । केन्द्रमा मुख्य रूपमा फिजियोथेरापी सेवा, शल्यक्रियापछिको हेरचाह, डिमेन्सिया, अल्जाइमर, पार्किन्सन रोगीको हेरचाह, पक्षघात (प्यारालाइसिस) भएका बिरामीको सेवा तथा ‘पेलियटिभ केयर’ सेवा उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो । हाल दैनिक आधारमा सेवा दिइँदै आएको केन्द्रले भविष्यमा आवश्यकताअनुसार सेवा विस्तार गर्ने योजना बनाएको केन्द्रका सूचना अधिकारी फडिन्द्र न्यौपानेले बताउनुभयो । उहाँका अनुसार केन्द्र ४५ सेयर सदस्यको लगानीमा स्थापना गरिएको हो । करिब रु दुई करोडको लगानीमा पाँच कट्ठा क्षेत्रफलमा निर्माण गरिएको केन्द्रले प्रारम्भिक चरणमा १५ शय्या क्षमताबाट सेवा सुरु गरेको छ । केन्द्रमा हाल १५ कर्मचारी कार्यरत छन्, जसमध्ये सात जना केयरगिभर रहेका छन् । आवासीय संरचनाअन्तर्गत १० सामान्य शय्या र पाँच मेडिकल क्याबिनको व्यवस्था गरिएको छ । सम्पूर्ण भवन अपाङ्गमैत्री संरचनाअनुसार निर्माण गरिएको न्यौपानेले जानकारी दिनुभयो ।








प्रतिक्रिया