खोज–अनुसन्धान

‘केपी शर्मा ओलीका अभिव्यक्तिमा व्यञ्जना’ विषयमा विद्यावारिधी



काठमाडौँ, १५ पुस

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उखान–टुक्कामा सीमित नभई व्यञ्जना सिद्धान्तका गहिरा दार्शनिक अभिव्यक्तिहरू भएको निष्कर्ष निकालिएको छ । नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रसमक्ष सानुमैँया खड्काले आफनो विद्यावारिधीको शोधमा पूर्वप्रधानमन्त्री ओलीका भाषणलाई पूर्वीय दर्शनको सैद्धान्तिक दृष्टिकोण अर्थात् व्यञ्जना सिद्धान्तबाट विश्लेषण गर्नुभएको हो । अध्यक्ष ओलीका अभिव्यक्तिमा प्रयोग हुने कथनमा व्यञ्जना अर्थ रहेको शोधको निष्कर्ष रहेको उहाँले सुनाउनुभयो । शोधमा ओलीद्वारा अघि सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा राष्ट्रिय आकाङ्क्षा एवं गन्तव्य मात्र नभई समयानुकूल विकसित हुँदै सिद्धान्त र दर्शनको रूपमा विकसित भएकोे आफ्नो ठहर रहेको खड्काको भनाइ छ । “उक्त आकाङ्क्षा अब आत्मसम्मान र सामाजिक न्यायको समिश्रित आयामहरूमा आधारित दर्शन रहेको शोधको निचोड छ”, उहाँले भन्नुभयो । डा खड्काले उक्त शोधको आज प्रतिरक्षा (डिफेन्स) गरी उपाधि हासिल गर्नुभएको छ । यो नेपालको राजनीतिक वक्तृत्व परम्परामा पूर्वीय चिन्तनको प्रयोग गरिएको पहिलो विद्यावारिधिस्तरीय शोध भएको जनाइएको छ । शोधमा विश्व चर्चित नेताहरू बाराक ओबामा, डोनाल्ड ट्रम्प, सी चीनफिङ, नरेन्द्र मोदीलगायतका अभिव्यक्ति तथा भाषणशैलीको पनि तुलनात्मक अध्ययन गरिएको छ । तुलनात्मक समीक्षामा ओलीका अभिव्यक्तिहरूमा मौलिकता, सांस्कृतिक गहिराइ र प्रतीकात्मक भाषिक संरचनाको विशिष्ट पहिचान रहेको उल्लेख गरिएको छ । यस अध्ययनलाई नेपाली राजनीतिक भाषाशास्त्र, वक्तृत्व अध्ययन, दार्शनिक विमर्श तथा समकालीन राजनीतिक अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण शैक्षिक योगदानको रूपमा लिइएको छ । खड्काले आगामी दिनमा नेपाली नेताहरूका भाषण, अभिव्यक्ति र वैचारिक संरचनालाई व्यवस्थित रूपमा अभिलेखीकरण, विश्लेषण र शैक्षिक बहसमा रूपान्तरण गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली नेताहरूका अभिव्यक्तिमा निहित सांस्कृतिक अर्थ, दार्शनिक गहिराइ र रूपकात्मक संरचनालाई समेटेर अघि बढाइने अनुसन्धान परम्पराले बौद्धिक जगत्लाई नयाँ दिशातर्फ उन्मुख गराउने विश्वास पनि व्यक्त गर्नुभयो । शोधका लागि डा ऋषिराम शर्मा निर्देशक तथा प्रा डा भागवत ढकाल र प्रा केशव सुवेदी विशेषज्ञ रहनुभएको थियो । —

प्रकाशित : १५ पुस २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६