लक्ष्मण प्रसाद बेल्बासे
थोरै श्रोतका बीच शुद्धोधन गाउँपालिकाले विकासको यात्रामा ठूलो परिवर्तन ल्याएको तथ्यहरुले पुष्टी गरेको छ । सीमित स्रोत–साधन, कर्मचारी अभाव र संरचनागत चुनौतीका बीच शुद्धोधन गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा विकास, सेवा प्रवाह र सामाजिक उत्तरदायित्वका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ। वार्षिक प्रगति समीक्षा प्रतिवेदनले गाउँपालिकाले आधारभूत आवश्यकतादेखि दीर्घकालीन विकास सम्म सन्तुलित प्रयास गरिरहेको स्पष्ट संकेत गरेको छ।
संघीय, प्रदेश र आन्तरिक स्रोतबाट प्राप्त बजेटको प्रभावकारी परिचालन गर्दै गाउँपालिकाले उच्च खर्च प्रतिशत कायम गर्न सफल भएको छ। विशेषगरी आन्तरिक राजस्व संकलनमा सुधार देखिनु स्थानीय आर्थिक सशक्तीकरणतर्फको सकारात्मक संकेत हो। कृषि, शिक्षा, स्वास्थ्य, महिला तथा सामाजिक संरक्षण र भौतिक पूर्वाधार जस्ता प्राथमिक क्षेत्रमा बजेट केन्द्रित गरिएको छ।
गाउँपालिका भित्र सडक पक्कीा तथा ग्राभेल, खानेपानी योजना, विद्यालय भवन, सिँचाइ बोरिङ, स्वास्थ्य चौकी र अस्पताल निर्माण कार्यले गति लिएको छ। दमकल, एम्बुलेन्स र फायर ट्यांकर जस्ता उपकरणको उपलब्धताले विपद् व्यवस्थापन क्षमतालाई थप सबल बनाएको छ। बहुवर्षीय योजनाअन्तर्गत ठूला पूर्वाधार निर्माण अघि बढ्नु दीर्घकालीन विकासको आधार हो।
जेष्ठ नागरिक, एकल महिला, दलित, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख समुदाय र पोषण भत्तालगायत सामाजिक सुरक्षा कार्यक्रममार्फत हजारौँ लाभग्राही प्रत्यक्ष लाभान्वित भएका छन्। गम्भीर रोगीहरूका लागि औषधि उपचार सहयोग कार्यक्रमले मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई बलियो बनाएको छ।
१५ शैयाको अस्पताल निर्माण अन्तिम चरणमा पुग्नु गाउँपालिकाको गौरवपूर्ण उपलब्धि हो। स्वास्थ्य चौकी र विद्यालय भवन निर्माणले सेवा पहुँच विस्तार गरेको छ। यद्यपि बालमैत्री, वातावरणमैत्री र पोषणमैत्री स्थानीय शासन घोषणाका क्षेत्रमा अझै काम गर्न बाँकी रहेको प्रतिवेदनले औँल्याएको छ।
न्यायिक समिति मार्फत उजुरीको मिलापत्रका आधारमा समाधान हुनु सामाजिक सद्भाव र न्यायिक पहुँचको संकेत हो। विपद् व्यवस्थापन सम्बन्धी कार्यविधि निर्माण, कोष व्यवस्थापन र प्रतिकार्य सामग्री खरिदले आपत्कालीन अवस्थासँग जुध्ने क्षमतालाई मजबुत बनाएको छ।
अति राजनीतिकरण, कर्मचारी अभाव, सानो बजेटका कारण ठूला योजना कार्यान्वयनमा कठिनाइ, असार केन्द्रित पूँजीगत खर्चजस्ता समस्या यथार्थ भए पनि गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण, योजना प्राथमिकता निर्धारण र खर्च अनुशासनलाई आगामी लक्ष्यका रूपमा अघि सारेको छ।
स्थानीय तहलाई सक्षम बनाउन संघीय निजामती सेवा ऐन शीघ्र जारी गर्नुपर्ने, कर्मचारी वृत्ति विकास, कानूनी स्पष्टता र नियमित अनुगमन–पृष्ठपोषण आवश्यक रहेको निष्कर्ष निकालिएको गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी छ।
शुद्धोधन गाउँपालिकाको वार्षिक प्रगति समीक्षा प्रतिवेदनले देखाएको सन्देश स्पष्ट छ—सीमितता बीच पनि योजना, प्रतिबद्धता र समन्वय भए विकास सम्भव छ। पूर्वाधार, स्वास्थ्य, सामाजिक सुरक्षा र सुशासनका क्षेत्रमा देखिएको प्रगतिले गाउँपालिकालाई समृद्धितर्फ उन्मुख गराएको छ। आगामी दिनमा संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य थप सुदृढ भए शुद्धोधनको विकास यात्राले अझ मजबुत गति लिने अपेक्षा गर्न सकिन्छ ।








प्रतिक्रिया