मोरङ, १९ पुस
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले राष्ट्रको आर्थिक तथा व्यावसायिक क्षेत्रमा महोत्सवले नवीन उत्साह सञ्चार गरिहेको बताउनुभएको छ । मोरङ उद्योग व्यापार सङ्घ विराटनगरद्वारा आयोजित ‘विराट ट्रेड एक्स्पो’ को आज साँझ यहाँ समापन गर्दै उहाँले यस प्रकारको एक्स्पोले नवीनतम् प्रविधि र व्यावसायिक सञ्जाल निर्माण गर्न महत्त्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । मन्त्री सिन्हाले नेपालको औद्योगिक विकासमा विराटनगरको अत्यन्त गौरवशाली इतिहास रहेको चर्चा गर्दै उद्यमशीलताको विकासमा यस क्षेत्रका अग्रज उद्यमी गरेको योगदानले मुलुकमा औद्योगिक क्रान्ति ल्याएको धारणा राख्नुभयो । “कोशी प्रदेश आर्थिक समृद्धिको असिम सम्भावना बोकेको औद्योगिक क्षेत्र हो, यस क्षेत्रले १६ प्रतिशत गार्हस्थ्य उत्पादन र २५ प्रतिशत औद्योगिक उत्पादन गरी राष्ट्रलाई योगदान पु¥याएको छ”, उहाँले भन्नुभयो,“नेपाल–भारत परिवहन सन्धिको संशोधनले यो योगदानलाई थप बढाउने छ । कलकत्ता र विशाखापटनम बन्दरगाहबाट विराटनगर जोगवनीसम्म रेलमार्फत सबै किसिमका कार्गो ढुवानीको कानुनी बाटो खुला भएकाले व्यापार सहजीकरण र ढुवानी भाडा घट्ने विश्वास छ ।” वर्तमान सरकार फागुन २१ गते निर्वाचन सम्पन्न गरी राष्ट्रलाई राजनीतिक स्थायित्वको मार्गमा अग्रसर गराउन अगाडि बढेको भन्दै मन्त्री सिन्हाले सरकार युवाशक्तिलाई अधिकतम रूपमा राजनीतिको अग्रपङ्क्ति लैजान प्रतिबद्ध रहेको बताउनुभयो । सोहीअनुसार प्रतिनिधिसभाको निर्वाचनको तयारी तीव्र रूपमा भइरहेको उहाँको भनाइ थियो । सङ्घका अध्यक्ष अनुपम राठी, एक्स्पोका संयोजक अमितकुमार सारडा र पूर्वअध्यक्ष नवीन रिजालले एक्स्पोले नयाँ उद्यमी र व्यवसायी जन्माउन सहयोग पु¥याउन योगदान गरिरहेको बताउनुभयो । एक्स्पोमा नेपाली घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादन, अटोमोबाइल क्षेत्रका साथै भारत, बङ्गलादेश, पाकिस्तानमा उत्पादित वस्तुसहितका दुई सय बिक्री केन्द्र रहेका थिए । एक्स्पोमा तीन लाख स्वदेशी तथा भारतीय दर्शकले अवलोकन गर्र्नाका साथै करिब रु ५० करोडको कारोबार भएको आयोजकले जनाएको छ । यहाँ यही पुस ९ देखि एक्स्पो सञ्चालन गरिएको थियो । सङ्घले यसअघि विसं २०५३, २०५७, २०६२, २०७०, २०७५, २०७८ र २०७९ एक्स्पो आयोजना गरेको थियो ।








प्रतिक्रिया