देउखुरी (दाङ), १९ पुस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संस्कृतिको जगेर्ना गर्नु सबैको दायित्व रहेको बताउनुभएको छ । थारू कल्याणकारिणी सभा दाङको आयोजनामा माघ सांस्कृतिक महोत्सव–२०८२ (थारू संवत् २६४९) का अवसरमा आज उहाँले लुम्बिनी प्रदेश हरेक जातजाति, संस्कृति र वेशभूषाले सजिएको भन्दै सबैको विकासका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले भन्नुभयो, “यो प्रदेश एउटै मालाका रूपमा रहेको छ । यहाँ हरेक समुदायका आफ्नै वेशभूषा र संकृति भए पनि एकतामा गोलबद्ध भएका छौँ, यो समग्र नेपालको पहिचान र विशेष हो ।” उहाँले भूमिपुत्रका रूपमा चिनिने थारू समुदायले आफ्नो संस्कृति बचाएर राखेकामा खुसी व्यक्त गर्दै अब संस्कृतिको प्रचारप्रसार गरी व्यावसायिक लाभ लिनुपर्ने आवश्यकता औँल्याउनुभयो । मुख्यमन्त्री आचार्यले दाङको चखौरामा प्रदेश सरकारको सहयोगमा थारू सांस्कृतिक सङ्ग्रहालय बनाइएको र र सो सङ्ग्रहालयले आन्तरिक तथा बाह्य पर्यटकलाइ आकर्षण गरिरहेको चर्चा गर्नुभयो । “संस्कार र संस्कृति पुस्तान्तरण गर्नुपर्ने विषय हुन् । हरेकले यसमा ध्यान दिनुपर्छ । अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाइ ज्ञान सिकाउँदै जानुपर्छ”, उहाँले भन्नुभयो, “त्यसमा सरकारको पनि दायित्व जोडिएको छ । त्यसैले त प्रदेश सरकारले थारु संस्कृतिलाई जगेर्नाका लागि विभिन्न काम गरिरहेको छ । संस्कृति जोगाउँदै आयआर्जनमा जोड्ने हाम्रो योजना छ ।” महोत्सवमा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्वसांसद शान्ता चौधरी, घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीलगायतले शुभकामना दिनुभएको थियोे । महोत्सवमा सात दर्जनभन्दा बढी मघौटा नाच, छोक्रा, हुर्डुङया नाच, ढुम्री गीत प्रदर्शन गरिएका थिए । ‘आर्थिक जागरण र सांस्कृतिक रूपान्तरण हमार अभियान, समाजिक न्याय सहितके समृद्धिम हमार योगदान’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सव उद्घाटनअघि घोराहीका मुख्य बजार क्षेत्रमा थारू मौलिक वेशभूषासहित झाँकीसहित बजार परिक्रमा गरिएको थियोे ।








प्रतिक्रिया