काठमाडौँ, १९ पुस
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राज्यलई बलियो बनाउनका लागि राज्य र जनताबीचको सम्बन्धलाई घनिष्ठ बनाउनुपर्ने जोड दिनुभएको छ । निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको तेस्रो बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले जनतासँग राज्यको सम्बन्ध घनिष्ठ बनाउन सरकारले सेवा प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले जनता र राज्य बीचका सम्बन्धलाई जीवन्त बनाउने भूमिका निजामती कर्मचारीको रहेको बताउनुभयो । “राज्यलाई बलियो बनाउनका लागि नागरिक हक सुनिश्चित गर्नुपर्दछ । राज्य र जनतालई जोड्ने काम गर्नुपर्दछ । त्यसपछि मात्र हामी समृद्धिको यात्रामा अघि बढ्न सक्दछौँ”, महासचिव पोखरेलले भन्नुभयो । उहाँले निर्वाचनलाई सामना गर्न राज्यका प्रमुख अङ्गबीच एकता र सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो । “अहिले राज्य कमजोर अवस्थामा छ । यस्तो बेला राज्य बलियो बनाउने काम निजामती प्रशासनको हो । कमजोर अवस्थामा रहेको राज्यलाई स्थायी सरकारको नेतृत्व गरिरहेको निजामतीले बलियो बनाउने अगुवाइ गर्न सक्दछ”, उहाँले भन्नुभयो, “मुलुकको वर्तमान र भविष्यका लागि जागरुक तप्काका रूपमा निजामती कर्मचारी रहनुपर्दछ ।” महासचिव पोखरेलले नवयुवा राज्य र राजनीतिक दलसँग असन्तुष्टि रहेका बताउँदै गत भदौ २३ र २४ को घटना यसको उदाहरणका रूपमा रहेका उल्लेख गर्नुभयो । उहाँले नवयुवाले अगाडि सारेका भ्रष्टाचार नियन्त्रण, सुशासन कामय गर्नेलगायत विषयलाई राजनीतिक नेतृत्वले समाधान गर्ने बताउनुभयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य भोला पोखरेलले निजामती कर्मचारी स्थायी सरकार भएकाले बाह्य शक्तिबाट मुलुकलाई जोगाउन भूमिका खेल्न आग्रह गर्नुभयो । सङ्गठनका अध्यक्ष भवानी दाहालले राज्य कमजोर भएको बेला निजामती कर्मचारी चनाखो भएर बस्नुपर्ने र जनहितमा केन्द्रित भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया