देश

अत्यधिक चिसो बढेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध



काठमाडौँ, १९ पुस

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले चिसोले गर्दा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मियालगायत लक्षण भएका बिरामीको सङ्ख्या बढ्ने भएकाले चिसोमा बाहिर ननिस्कन अनुरोध गर्नुभएको हो । “जाडोयाम सुरु भएसँगै सामान्यभन्दा तापक्रम कम भएर विभिन्न क्षेत्रमा हुने शीतलहर, हुस्सु, कुहिरो र हिमपात जस्ताले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मिया जस्ता लक्षण भएका बिरामीहरु बढ्ने गरेका छन,,” उहाँले भन्नुभयो । उहाँले चिसोका कारण देखिने समस्या रहिरहे वा बढेमा ढिला नगरी नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा हेलो स्वास्थ्य कल सेन्टर १११५ बाट परामर्श लिनसमेत अनुरोध गर्नुभएको छ । उहाँका अनुसार जाडोयाममा बालबालिका, गर्भवती, वृद्धवृद्धा तथा दीर्घरोगी बढी जोखिम हुने गरेको छ । मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्कलगायत अङ्गमा गम्भीर असर पार्नाका साथै दम, क्यान्सरजस्ता दीर्घरोगको जोखिम र मृत्युदर बढाउने बताउनुभयो । “चिसोका कारण उत्पन्न हुने सक्ने लक्षण वा रोगलाई न्यून गर्न तथा लाग्न नदिन, धुवाँधुलोबाट बच्ने, पोषणयुक्त सन्तुलित खाना खाने, न्यानो लुगा लगाउने, भिटामिनसी पर्याप्त मात्रा भएका सुन्तला, कागती र अमला खाने, मौसम अनुसारको ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा ध्यान दिने र प्रशस्त मात्रामा झोल पदार्थ खाने गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । —

प्रकाशित : १९ पुस २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६