ब्रेकिंग न्युज

सातदशकपछि नागरिकता पाउँदा…



खोटाङ, २१ पुस

साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिनुभएको छ । विसं २०१३ फागुन–७ गते जन्मनुभएका उहाँले पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकताको प्रमाणपत्र लिनुभएको हो । आफूसँग नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा छोरीहरु शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित हुनुपरेकाले ढिलै भए पनि नागरिकता लिएको उहाँले बताउनुभएको छ । “म सानै उमेर (१४ वर्ष)को हुँदा साथीहरुसँग घरबाट भागेर रोजगारीको सिलसिलामा भारत गएँ । उताबाट फर्किएपछि कञ्चनपुरमा आएर मजदुरीको काम गर्न थालेँ । त्यहाँ काम गर्दागर्दै स्थानीय लीला भट्टसँग विवाह गरेँ”, उहाँले भन्नुभयो, “हाम्रो २२ र आठ वर्षीया दुई छोरी छन् । जेठी छोरी अहिले कक्षा–१२ मा पढ्दै छिन् । उनलाई मेरो नागरिकता चाहिने भएपछि मैले जिल्ला आएर नागरिकता लिएको हुँ ।” घर छाडेको ५६ वर्षपछि जिल्ला फर्कनुभएका केशरबहादुरलाई जेठा दाजु मदनबहादुरको सनाखतमा प्रशासनले नागरिकता दिएको छ । “मैले पढेलेखेको थिइनँ । नागरिकता बनाएर पनि के काम भन्ने लाग्थ्यो ! तर, मेरो नागरिकता नहुँदा छोरीहरुलाई समस्या पर्दोरहेछ !”, केशरबहादुरले भन्नुभयो, “आफूले केही नगरेपनि छोरीहरुलाई केही गराउनुपर्छ भन्ने लागेको छ । तर, मसँग नागरिकता थिएन । सबैको सहयोगमा आज जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र प्राप्त गरेको छु । ” झण्डै सात दशकपछि प्राप्त भएको नागरिकताको प्रमाणपत्रले केशरबहादुरको परिवारमा नयाँ आशा थपेको भतिज श्यामकुमारले बताउनुभएको छ । “सानै उमेरबाट सम्पर्कविहीन हुनुभएका काका ५६ वर्षपछि घर आउनुभयो । लामो समयसम्म सम्पर्कविहीन हुनुभएको व्यक्ति घर आएपछि परिवारमा खुसीयाली छाएको छ”, उहाँले भन्नुभयो, “नागरिकता बनाउनका लागि उहाँसँग कुनै प्रमाण थिएन । करिब हप्ता दिन लगाएर सबै प्रमाण जुटायौँ । आज जिल्ला प्रशासन कार्यालयले काकालाई नेपाली नागरिकताको प्रमाणपत्र दिएपछि हर्षित हुनुभएको छ ।” आफूले नेपाली नागरिकताको प्रमाणपत्र पाएसँगै श्रीमतीको विवाह दर्ता र छोरीहरुको जन्मदर्ता गर्ने तयारी गरेको केशरबहारले बताउनुभएको छ । विवाहपछि ससुरालीले दिएको जग्गामा घर बनाएर कञ्चनपुरमै बस्दै आउनुभएका केशरबहादुरको कान्छी छोरी कक्षा–३ मा अध्ययनरत रहेको पारिवारिक स्रोतले जनाएको छ । चेतना अभावका कारण बुबाआमाले नागरिकता नबनाउँदा जिल्लाका धेरै परिवारमा जन्मिएका छोराछोरीमा समस्या देखिने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नागरिक नेपाली नागरिकताको प्रमाणपत्र पाउनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले आफू सरुवा भएर खोटाङ आउनासाथ सहज वातावरण निर्माण गरेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताउनुभएको छ ।

प्रकाशित : २१ पुस २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६