काठमाडौँ, २२ पुस
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले व्यापार घाटा घटाउन निर्यातलाई जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल निर्यात परिषद्को २८औँ वार्षिक साधारणसभा एवम् १०औँ निर्यात दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री सिन्हाले विदेशी मुद्रा भित्र्याउन निर्यातमा जोड दिनुपर्ने बताउनुभयो । विदेशी मुद्रा भित्र्याउन र व्यापार घाटा कम गर्ने क्षेत्र निर्यात भएकाले यसलाई बढाउन आवश्यक भएको उहाँको भनाइ थियो । मन्त्री सिन्हाले स्वदेशी वस्तुको निर्यात बढाएर मुलुकको अर्थतन्त्र चलायमान बनाउन सकिने बताउनुभयो । सरकारले निर्यात प्रवद्र्धन गर्न प्रयत्न गरे पनि सन्तुष्ट हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री सिन्हाले भन्नुभयो, “निर्यातमा देखिएका प्रकियागत र कार्यविधिगत समस्या सहजीकरण गर्न सरकार तयार छ । निर्यातलाई प्रोत्साहन गर्न कार्यविधि तयार गरिँदैछ ।” निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले विदेशी मुद्रा भित्र्याउने निर्यातजन्य वस्तुमा सरकारले दिइरहेको नगद अनुदान रोकिँदा व्यवसायी मर्कामा परेको बताउनुभयो । उहाँले नगद अनुदान रोक्ने सरकारको निर्णय तत्काल सच्याउन माग गर्नुभयो । नेपालबाट आर्थिक वर्ष २०८१/८२ मा रु दुई खर्ब ७७ अर्ब तीन करोड र चालु आवको चार महिनामा रु ९३ अर्ब ५० करोडको सामान विभिन्न मुलुक निर्यात भएको छ ।








प्रतिक्रिया