सिरहा, २५ पुस
पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर-कमला खण्डको चार लेन सडक निर्माण तोकिएको समयमा सम्पन्न हुन नसकेपछि तेस्रोपटक म्याद थप गरिएको छ । गत डिसेम्बरसम्म पश्चिमी खण्डअन्तर्गत कुशहाबाट कमलासम्मको ४७ दशमलव ४१ किलोमिटर सडकमा ७१ प्रतिशतमात्रै काम सम्पन्न भएपछि आगामी जुनसम्मका लागि म्याद थपिएको हो । कञ्चनपुर-कमला पश्चिम खण्ड आयोजना शाखा मिर्चैयाका सूचना अधिकारी अनुपम साहका अनुसार निर्माण कम्पनीलाई थप छ महिनाको समय दिइएको छ । “औपचारिक पत्र आउन बाँकी छ । अबको छ महिनाभित्र काम सक्नेगरी निर्माण कम्पनीले काम अघि बढाउनेछ”, उहाँले भन्नुभयो । यस खण्डमा मिर्चैया र लहानमा निर्माण गरिने ‘ओभरपास’को काम शीतलहरका बाबजुद निरन्तर भइरहेको छ । दुईवटा ‘ओभरपास’ र तीनवटा ‘अन्डरपास’ निर्माण जारी रहेको आयोजना कार्यालयले जनाएको छ । यसअघि लहान, गोलबजार, मिर्चैया र बन्दीपुर क्षेत्रमा छ लेन सडक विस्तारका लागि हटाउनुपर्ने तीन सय ४० वटा विद्युत्का खम्बा नहटाउँदा निर्माणमा अवरोध आएको थियो । हाल खम्बा हटाउने काम सम्पन्न भएसँगै निर्माण सहज भएको साहले जानकारी दिनुभयो । “अब कुनै अवरोध नआए आगामी जुनसम्म काम सम्पन्न गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो । चाइना रेलवे-२ इञ्जिनियरिङ ग्रुपले सन् २०२० जुनमा रु १५ अर्ब ६६ करोडमा ठेक्का पाएको थियो । सम्झौताअनुसार ८५ किलोमिटर सडक चार लेन, पुल, कल्भर्ट र बाइपाससहित २८ अक्टोबर २०२३ मा सम्पन्न गर्नुपर्ने थियो । तर पटकपटक म्याद थपिँदा पनि हालसम्म ३० प्रतिशत काम भने बाँकी छ । आयोजनाको पूर्वी खण्ड कञ्चनपुर-कुशहा (३९ दशमलव ४२ किमी) र पश्चिमी कुशहा-कमला (४७ दशमलव ४१ किमी) गरी दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ । वर्षौँदेखि निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले धुलो, धुवाँ र सास्ती खेप्दै आएका छन् । राष्ट्रिय गौरवको आयोजना भए पनि समयमै काम नसकिँदा सर्वसाधारण निराश भएका छन् ।








प्रतिक्रिया