अर्थ-वाणिज्य

बाणगंगामा सहकारीको दायरा विस्तार६५ सहकारीमा ६३ हजार भन्दा बढी सदस्यको सक्रिय सहभागिता



लक्ष्मण प्रसाद बेल्बासे

बाणगंगा पुस २६, बाणगंगा नगरपालिकामा रहेका ६५ सहकारीमा ६३ हजार ८ सय ६५ जना सदस्य आवद्ध रहेका बाणगंगा नगरपालिकाको तथ्यांकले पुष्टी गरेको छ ।
बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा सहकारी क्षेत्रको संस्थागत वृद्धि, सदस्यहरुको सहभागितामा उल्लेखनीय प्रगति हासिल गरेको नगरको तथ्यांकले पुष्टी गरेकोछ । बाणगंगा नगर क्षेत्रभित्र रहेका सहकारी संस्थाहरूको कुल शेयरपुँजी ९२ करोड ९६ लाख रुपैयाँ, बचत रकम ३ अर्ब ७८ करोड रुपैयाँ र ऋण लगानी ४ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । कृषि सहकारीले मात्र ९६ करोड रुपैयाँभन्दा बढी ऋण लगानी गरेको छ, जसले कृषि उत्पादन, पशुपालन र ग्रामीण उद्यमशीलतालाई चलायमान बनाएको छ । बचत तथा ऋण सहकारी संस्थाले पनि सर्वसाधारणको सानो–सानो बचतलाई ठूला लगानीमा रूपान्तरण गर्दै स्थानीय आर्थिक गतिविधि मजबुत बनाइरहेका छन् । प्रदेशस्तरीय सहकारी संस्थाको उच्च बचत र ऋण लगानीले बाणगंगालाई सहकारी वित्तको महत्वपूर्ण केन्द्रका रूपमा उभ्याएको छ ।
नगरकार्यपालिकाको कार्यालय बाणगंगा, कपिलवस्तुबाट सार्वजनिक गरिएको तथ्यांक अनुसार सहकारी संस्थाको संख्या, सदस्य सहभागिता, शेयरपुँजी, बचत संकलन र ऋण लगानी सबै सूचकमा सकारात्मक वृद्धि देखिएको छ । यसले स्थानीय आर्थिक सशक्तीकरण, वित्तीय पहुँच र समुदायको आत्मनिर्भरता अभिवृद्धि भएको स्पष्ट संकेत गर्दछ ।
आर्थिक वर्ष २०८१÷८२ मा बाणगंगा नगर क्षेत्रमा सञ्चालनमा रहेका सहकारी संस्थाको कुल संख्या ६५ रहेको छ ।
सबैभन्दा धेरै कृषि सहकारी संस्था ३६ रहेका छन्, जसले बाणगंगाको अर्थतन्त्र कृषि–आधारित रहेको यथार्थलाई पुष्टि गर्दछ । त्यसपछि बचत तथा ऋण सहकारी संस्था १६, बहुउद्देश्यीय सहकारी १०, उपभोक्ता सहकारी २ र दुग्ध सहकारी १ सञ्चालनमा छन् । प्रदेश कार्यक्षेत्र भएका सहकारी संस्थाको संख्या १५ पुग्नुले सहकारीको दायरा स्थानीय तहभन्दा बाहिर पनि विस्तार हुँदै गएको देखिन्छ ।
वडागत रूपमा सहकारीको पहुँच हेर्दा वडागत विवरणले सहकारीको पहुँच नगरका सबै वडामा फैलिएको देखाउँछ । आर्थिक वर्ष २०८१÷८२ मा कुल ६५ सहकारी संस्थामा ६३ हजार ८ सय ६५ जना सदस्य आबद्ध रहेको आ.ले.प. अधिकृत तथा सहकारी प्रमुख सन्जुदेवि आचार्यले बताउनु भयो । आ.व. २०८०÷०८१ को तुलनामा सदस्य संख्या करिब ७ हजारले वृद्धि भएको छ ।
सबैभन्दा धेरै सहकारी संस्था र सदस्य वडा नं. ४ मा रहेका छन्, जहाँ १९ सहकारीमा २९ हजार ४ सय २२ जना सदस्य आबद्ध छन् । यसले सहकारीप्रति जनविश्वास र वित्तीय क्रियाकलापको केन्द्रका रूपमा उक्त वडा विकसित हुँदै गएको संकेत गर्दछ । साथै, सहकारीमा प्रत्यक्ष संलग्न कर्मचारी संख्या पनि २०८ बाट बढेर २४५ पुगेको छ, जसले रोजगारी सिर्जनामा समेत सहकारी क्षेत्रको योगदान पुष्टि गर्छ ।
समग्रमा उपलब्ध तथ्यांकको विश्लेषण गर्दा बाणगंगा नगरपालिकामा सहकारी क्षेत्र संख्यात्मक मात्र नभई गुणात्मक रूपमा पनि सुदृढ हुँदै गएको देखाउँछ । सहकारीमार्फत बचतको संस्कार विकास, उत्पादनशील क्षेत्रमा लगानी, रोजगारी सिर्जना र समुदायको आर्थिक आत्मनिर्भरता बढ्दै गएको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बताउनु भयो ।
नगरकार्यपालिकाको नीतिगत सहजीकरण, अनुगमन तथा सहकारीमैत्री वातावरणका कारण सहकारी क्षेत्र विश्वासयोग्य र दिगो बन्दै गएको सरोकारवालाहरूको निष्कर्ष छ ।
बाणगंगा नगरपालिका भित्र सहकारी क्षेत्र स्थानीय विकासको मेरुदण्डका रूपमा स्थापित हुँदै गएको छ । आगामी दिनमा सुशासन, पारदर्शिता र उत्पादनमूलक लगानीलाई थप प्राथमिकता दिइएमा सहकारी क्षेत्र नगरको समग्र आर्थिक रूपान्तरणको बलियो आधार बन्ने निश्चित रहेको नगर प्रमुख चक्रपाणी अर्यालको तर्क रहेको छ ।

प्रकाशित : २६ पुस २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६