काठमाडौँ, २७ पुस
मधेसी पत्रकार समाज नेपालले राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झासहित तीन जना पत्रकारलाई आज एक कार्यक्रमबीच सम्मान गरेको छ । सहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसका अवसरमा आज काठमाडौँमा आयोजित उमा सिंह पत्रकारिता सम्मान कार्यक्रम–२०८२ मा पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै तीन जना पत्रकारलाई विभिन्न विधामा सम्मान गरिएको हो । कार्यक्रममा राससका कार्यकारी अध्यक्ष झा, नेपाल टेलिभिजनकी पत्रकार स्वेता सिन्हा तथा नेपालगञ्जका पत्रकार निलम शर्मालाई सम्मान गरिएको मधेसी पत्रकार समाज नेपालले जनाएको छ । समाजका अध्यक्ष मोहनकुमार सिंहले झालाई विशेष सम्मान, सिन्हालाई साहसिक पत्रकारिता सम्मान तथा शर्मालाई भाषा तथा संस्कृति सम्मान प्रदान गरिएको हो । उहाँका अनुसार सम्मानित पत्रकारहरूले आ–आफ्नो कार्यक्षेत्रमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण योगदान पु¥याएकाले सम्मान गरिएको बताउनुभयो । अध्यक्ष सिंहले सहिद पत्रकार स्व सिंहको न्यायका लागि निरन्तर आवाज उठाउनाका साथै मधेसका समसामयिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउँदै आएकाले योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँहरूलाई सम्मान गरिएको बताउनुभयो । स्व सिंहको हत्याको थप गहिरो र निष्पक्ष अनुसन्धान आवश्यकः कार्यकारी अध्यक्ष झा कार्यक्रममा राससका कार्यकारी झाले स्वर्गीय उमा सिंहको हत्याको विषयमा थप गहिरो र निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताउनुभएको छ । उहाँले हालसम्म गरिएको अनुसन्धान र प्रस्तुत गरिएका कारणप्रति आफू सन्तुष्ट नरहेको स्पष्ट उल्लेख गर्नुभयो । अध्यक्ष झाले सिंहको हत्या प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षासँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “म स्वर्गीय पत्रकार सिंहको हत्याबारे गरिएको अनुसन्धानप्रति सन्तुष्ट छैन । जुन कारण देखाएर हत्या गरिएको भनिएको छ, त्यसले अझै चित्त बुझाएको छैन । सिंहको हत्या पारिवारिक विवादका कारण मात्र भएको भन्ने निष्कर्ष एकपक्षीय छ । सिंहले पत्रकारितामार्फत उठाएका विषयवस्तु, लेख तथा सामग्रीहरू पनि हत्याको सम्भावित कारण हुनसक्ने देखिन्छन् ।” अध्यक्ष झाले यदि पारिवारिक कारणले मात्रै हत्या भएको हो भने त्यो अनुसन्धानबाट अझै स्पष्ट हुनुपथ्र्यो भन्ने आफ्नो धारणा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उमा सिंहकै हत्यासँग सम्बन्धित एक जना व्यक्ति फरार भई धनगढी पुगेको र त्यहाँबाट पक्राउ गरी ल्याइएको विषय पनि छ । ती सबै पक्षलाई समेटेर पुनः अध्ययन गरिनु आवश्यक छ । सिंहको हत्या हुनु केही महिना अघिदेखि उहाँले लेखेका समाचार सामग्री र उठाएका मुद्दाहरूको समेत गहिरो विश्लेषण हुनुपर्छ । यी विषयहरू प्रेस स्वतन्त्रताको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छन् ।” स्व वीरेन्द्र साहलगायत अन्य पत्रकारका हत्याका कारणबारे पनि थप अनुसन्धान, अध्ययन र खोजी गर्न आग्रह गर्दै सत्यतथ्य उजागर गर्नु पत्रकारिताको धर्म भएकाले यस विषयमा निरन्तर प्रश्न उठाइरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।








प्रतिक्रिया