खेलकुद

साधनभन्दा सोच बलियोः मायादेवीको एक विद्यालय जहाँ कक्षा कोठा जीवन्त बने



कपिलवस्तु, २८ पुस

कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा रहेको श्री छत्रपाली तीर्थादेवी माध्यमिक विद्यालय पछिल्लो समय शिक्षण–सिकाइमा अपनाइएका नवप्रयोगका कारण जिल्लाकै नमूना विद्यालयका रूपमा स्थापित हुँदै गएको छ। सीमित स्रोतसाधन हुँदाहुँदै पनि शिक्षकको सिर्जनशील सोच, लगनशीलता र निरन्तर प्रयासले यहाँका कक्षा कोठा जीवन्त र प्रभावकारी बनेका छन्।
विद्यालयकी बालविकास शिक्षिका सरस्वती उपाध्याय विगत १० वर्षदेखि यही विद्यालयमा अध्यापनरत हुनुहुन्छ। लामो समयसम्म औपचारिक तालिमको अवसर नपाउँदा उहाँ परम्परागत शिक्षण शैलीमै सीमित हुनुहुन्थ्यो। तर युनाइटेड मिसन टु नेपालद्वारा सञ्चालित ‘परिवर्तनका लागि बालबालिका, युवा तथा समुदाय (ऋथ्ऋऋ)’ परियोजनाअन्तर्गत क्रियाकलापमा आधारित शिक्षण–सिकाइ तालिममा सहभागी भएपछि उहाँको शिक्षण शैलीमा उल्लेखनीय परिवर्तन आएको छ।
तालिममार्फत नयाँ शिक्षण विधि, शैक्षिक सामग्री निर्माण र विद्यार्थी–केन्द्रित कक्षा सञ्चालनका सीप हासिल गरेपछि उपाध्यायले कक्षा कोठामा आफ्नै हातले तयार पारेका सामग्री प्रयोग गर्दै बालबालिकालाई सक्रिय सहभागितामार्फत सिकाइ गराउन थाल्नुभएको छ। यसले विद्यार्थीको रुचि र सहभागिता उल्लेखनीय रूपमा बढाएको छ।
विद्यालयको समय मात्र होइन, विदाको समयमा पनि उहाँ पसलबाट फालिएका बिस्कुट र चाउचाउका कार्टुन, कागज, बोतलजस्ता सामग्री संकलन गरी घरमै शैक्षिक सामग्री निर्माण गर्नुहुन्छ। यसरी तयार गरिएका सामग्रीले कक्षा कोठालाई आकर्षक बनाएको छ। शिक्षक नहुँदा पनि विद्यार्थीहरू आफैँ रमाउँदै अभ्यास गर्ने गरेका छन्, जसका कारण नियमित उपस्थितिमा समेत वृद्धि भएको छ।
“क्रियाकलापमा आधारित शिक्षणले विद्यार्थीको सुनाइ, बोलाइ र लेखाइ क्षमतामा उल्लेखनीय सुधार आएको छ,” शिक्षिका उपाध्यायले बताउनुभयो। उहाँले विद्यालयमै कार्यमूलक अनुसन्धानसमेत गर्नुभएको छ। उहाँको अभ्यासबाट प्रेरित भई अन्य विद्यालयका शिक्षकहरूले पनि शैक्षिक सामग्री निर्माण गर्न थालेको उहाँको भनाइ छ। यसका कारण छत्रपाली तीर्थादेवी माध्यमिक विद्यालय अहिले शिक्षण नवप्रयोग सिक्ने केन्द्रका रूपमा विकास हुँदै गएको छ।
विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर कुर्मीले शिक्षिका सरस्वती उपाध्यायको लगनशीलता र नवप्रयोगी सोचले विद्यालयको शैक्षिक वातावरणमा सकारात्मक रूपान्तरण आएको बताउनुभयो। सीमित साधनका बाबजुद पनि सोच, सीप र समर्पणले शिक्षामा गुणस्तरीय परिवर्तन सम्भव हुने उदाहरण यस विद्यालयले प्रस्तुत गरेको उहाँको भनाइ छ।

प्रकाशित : २८ पुस २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६