रामु पौडेल
बाणगंगा, कपिलवस्तु, ३० पुस
सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बाणगंगा नगरपालिका–१, कपिलवस्तुको पाँचौँ वार्षिक केन्द्रीय साधारण सभा सफलतापूर्वक सम्पन्न भएको संस्थाले जनाएको छ । मिति २०८२ साल पौष २९ गते संस्थाको ४ नं. जीतपुरस्थित केन्द्रीय कार्यालयको सभाहलमा साधारण सभा सम्पन्न भएको हो ।
यसअघि मिति २०८२ साल पौष २६ गते बाणगंगाका चार स्थानबाट एकैसाथ इकाइगत साधारण सभाहरू सम्पन्न गरिएका थिए । ती इकाइगत सभाबाट पारित निर्णयहरूको सार्वजनिकरण तथा प्रमाणिकरण केन्द्रीय साधारण सभा मार्फत गरिएको संस्थाले जनाएको छ ।

साधारण सभ बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सभामा संस्थाका सल्लाहकार, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी, केन्द्रीय तथा इकाइगत प्रतिनिधि, सेवा केन्द्र संयोजक, उपसमितिका प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको ब्यवस्थापक दिनामणी खनालले जानकारी दिनु भयो ।
सभामा निर्णयहरु प्रस्तुत गर्दै चार वर्षको अवधिमा सिनर्जी बहुउद्देश्यीय सहकारीले व्यवसायिक, सामाजिक तथा संस्थागत क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको तथ्यहरु प्रस्तुत गरिएको थियो । सभाले आगामी नीति, कार्यक्रम र भावी दिशाबारे व्यापक छलफल गर्दै संस्थालाई अझ सुदृढ, सक्षम र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।
सभाका क्रममा विभिन्न विधामा उत्कृष्ट योगदान पु¥याउने शेयर सदस्य तथा कर्मचारीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।

साथै, नेतृत्व चयन प्रक्रियालाई सर्वसम्मत, मर्यादित र समयसापेक्ष बनाउन व्यक्तिगत चाहना त्याग गर्दै सहकारी हितलाई सर्वोपरि राख्ने सबै आकांक्षीप्रति विशेष धन्यवाद व्यक्त गरिएको थियो ।
“सहकार्यमा विश्वास, समृद्धिमा सँगै” भन्ने मूल मन्त्रका साथ “समृद्धिका लागि सहकार्य” लाई साझा अभिभाराका रूपमा अघि बढाउने निर्णय गर्दै पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार गुणानिधि भुसालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
पाँचौ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेको अध्यक्षता, उपाध्यक्ष कूलराज पौडेलको स्वागत मन्तव्य र सचिव कृष्ण प्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएको संस्थाका ऋण प्रमुख ईश्वरराज न्यौपानेले जानकारी दिनु भयो ।
रोजगारी सिर्जनाको भरपर्दो आधार सहकारी नगर प्रमुख अर्याल
प्रमुख अतिथि नगर प्रमुख चक्रपाणी अर्यालले उत्पादन वृद्धि, बजारीकरण तथा रोजगारी सिर्जनाका लागि सहकारी भरपर्दो र विश्वसनीय आधार भएको धारणा राख्नु भयो ।

नगर प्रमुख अर्यालले नगरपालिका भित्रका सहकारी संस्थाहरूले आफ्नो विश्वासनियता बढाउदै लगेको चर्चा गर्दै सहकारीका हरेक गतिविधीलाई अनुगमन गर्ने गरेको बताउनु भयो । नगर प्रमुख अर्यालले नगरका सहकारी मार्फत आर्थिक गतिविधीलाई बढाउदै सदस्य र समुदायको हितमा काम गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रमका प्रमुख आमन्त्रित ब्यत्तित्व अर्यालले जनमुखी काममा सहकारीसंग नगरले सहकार्य गर्दै अगाडी बढने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
नयाँ नेतृत्व सर्वसम्मत चयन
केन्द्रीय साधारण सभाले सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ । निर्वाचन समितिका संयोजक नारायण बेल्बासेका अनुसार अध्यक्षमा लक्ष्मण प्रसाद बेल्बासे चयन हुनु भएको छ ।

त्यसैगरी उपाध्यक्षमा कूलराज पौडेल, सचिवमा शंकर पाण्डे र कोषाध्यक्षमा मनु पाण्डे चयन हुनु भएको छ । सञ्चालक समिति सदस्यहरूमा गंगा कुमारी केसी, चेतनारायण ढकाल, सर्मिला गिरी, बसन्त खनाल र लक्ष्मण अधिकारी सर्वसम्मत चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा चिरञ्जीवी पन्थ चयन हुनु भएको छ भने सदस्यहरूमा लक्ष्मी कडेल र महेश घिमिरे चयन हुनु भएको निर्वाचन समितिका सदस्य कूलराज भुसालले जानकारी दिनुभयो ।
सभामा नवनिर्वाचित अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले सहकारीको मूल्य, मान्यता र पारदर्शितालाई उच्च प्राथमिकतामा राख्दै सहकार्य, साझेदारी र नवप्रवर्तनमार्फत संस्थालाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








प्रतिक्रिया