अर्थ-वाणिज्य

नागरिक लगानी कोषको साधारणसभा सम्पन्न



काठमाडौँ, ३० पुस

नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कोषको साधारणसभाले गत आर्थिक वर्ष २०८१/८२ को आम्दानीबाट पाँच प्रतिशत बोनस शेयर र आठ प्रतिशत नगद लाभांश (नगदसमेत) वितरणको प्रस्ताव पारित गरेको हो । कोषको गत आवको कर पछिको खुद नाफा रु एक अर्ब २५ करोड ६० लाख रहेको छ । जसमध्ये रु २५ करोड १२ लाख साधारण जगेडा कोषमा राखी बाँकी रकमबाट लाभांश वितरण गरिएको हो । कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट गत आव २०८१/८२ मा रु दुई खर्ब ६६ अर्ब ६५ करोड खुद कोष सङ्कलन भएकामा चालु आवको असोज मसान्तसम्ममा बचत परिचालन मौज्दात रकम रु दुई खर्ब ९६ अर्ब ८९ करोड पुगेको जनाएको छ । साधारणसभाले कोषको वार्षिक प्रतिवेदन, गत आव २०८१/८२ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणसमेत पारित गरेको छ । साधारणसभाले सर्वसाधारण शेयरधनीका तर्फबाट नारायणप्रसाद घिमिरेलाई सर्वसम्मत चयन गरेको छ । साधारणसभामा कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले गत आवको लाभांशबाट शेयरधनी सन्तुष्ट देखिनु, कोषका कर्मचारीको सेवासुविधा र वृत्तिविकासलगायत विषयमा चासो देखाउनु सकारात्मक रहेको बताउनुभयो । उहाँले संस्थालाई व्यवस्थित बनाएर लैजान दूरदर्शी ढङ्गले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले शेयरधनीले साधारणसभामा दिएका सुझाव सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो । साथै संस्थालाई सुशासित संस्थाका रूपमा अघि बढाउँदै लगिएको उहाँले दाबी गर्नुभयो । कार्यकारी निर्देशक कार्कीले कोषले नेपाल वायुसेवा निगममा गरेको कर्जा लगानीको असुलीमा जटिलता देखिएको बताउनुभयो । निगमले विमान खरिदका लागि कर्जा लग्दा नेपाल सरकार ‘ग्यारेन्टी’ बसेको उल्लेख गर्दै उहाँले ढिलोचाँडो असुली हुने अपेक्षा व्यक्त गर्नुभयो । त्यस्तै, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषले शिक्षा, विपद् व्यवस्थापन तथा पुनर्निर्माणका क्षेत्रमा खर्च गरेको उहाँको भनाइ छ । कोषका तथ्याङ्क क्रमशः ‘डिजिटलाइज्ड’ गर्दै लगिएको र डाटा भण्डारणलाई सुरक्षित बनाउँदै लगिएको पनि कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित : १ माघ २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६