काठमाडौँ, १ माघ
उपसभामुख इन्दिरा रानाले माघी पर्वले सांस्कृतिक, धार्मिक र ऐतिहासिक पक्षको संरक्षण गरेको बताउनुभएको छ । उहाँले थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदायलगायत अन्य समुदायहरुले मनाउने चाड माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) का अवसरमा आज सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उपसभामुख रानाले विविध जातजाति र समुदायका बीचमा सद्भाव कायम गर्न विशिष्ट भूमिका खेलेको उल्लेख गर्नुभएको छ । “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश हो । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन्, नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वहरु रहेका छन् । यी चाडपर्वहरुले नयाँ उमङ्ग र उत्साहका साथ एकापसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्”, उहाँले भन्नुभएको छ । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकैदिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलनसमेत रहेको छ ।








प्रतिक्रिया