नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ। केन्द्रीय प्रचार विभागका प्रमुख मीनबहादुर शाहीका अनुसार एमालेले यसपटक कसैसँग चुनावी तालमेल गरेको छैन।
‘नेकपा (एमाले) ले देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको जानकारी गराउन चाहन्छौं। अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले पार्टीका नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा ¥यालीसहित निर्वाचन कार्यालय पुगेर आ–आफ्नो उम्मेद्वारी दर्ता गराउनुभएको छ। अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं. ५ बाट दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दर्ता गराउनुभएको हो,’ उनले भनेका छन्।
यसपालि एमालेले अगाडि सारेको सिंगो उम्मेद्वार संख्या मध्ये ५४.५४ प्रतिशत नयाँ अनुहार रहेको उनको दाबी छ। मधेस र सुदूरपश्चिममा ५०÷५० प्रतिशत र कोशीमा ५३.५७ प्रतिशत उम्मेद्वार नयाँ रहेको उनले बताए। सबैभन्दा धेरै नयाँ उम्मेद्वार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२.३० प्रतिशत रहेको उनको भनाइ छ। बागमती र गण्डकीमा यो संख्या क्रमशः ६०.६० प्रतिशत र ६१.११ प्रतिशत रहेको पनि उनले बताए।
‘नेकपा (एमाले) ले यस निर्वाचनलाई हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै नयाँ पुस्ताको सुन्दर भविष्य निर्माण गर्ने निर्णायक मोडका रूपमा लिनुका साथै संविधान र लोकतन्त्रको पक्षमा प्रतिगमनविरूद्धको जनमत संग्रहका रुपमा लिएको हुँदा आजको दिनलाई विशेष दिनका रूपमा लिएको छ,’ उनले भने।








प्रतिक्रिया