कपिलवस्तु, १५ माघ
नेपालले पछिल्ला दशकहरूमा आर्थिक, सामाजिक तथा मानव विकासका सूचकहरूमा उल्लेखनीय प्रगति गरेको लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पंथीले सामाजिक संजाल मार्फत तथ्य सहित विचार सार्वजनिक गर्नु भएको छ । प्रदेश सभा सदस्य पंथीले विगत र वर्तमानको तथ्याङ्कलाई तुलनात्मक रूपमा हेर्दा मुलुक सही दिशामा अघि बढिरहेको स्पष्ट देखिन्छ । लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पंथीका अनुसार यी उपलब्धिहरू नीति, राजनीतिक चेतना, सामाजिक जागरण र जनताको सामूहिक प्रयासको परिणाम हुन् ।
२०४७ सालमा प्रतिव्यक्ति आय केवल ४ हजार १८५ रुपैयाँ रहेको अवस्थामा आज यो बढेर २०८२ सालमा करिब ४१ हजार ५०० रुपैयाँ पुगेको छ । यसले नेपाली नागरिकको क्रयशक्ति र जीवनस्तरमा सुधार आएको संकेत गर्दछ ।
त्यसैगरी, २०४७ सालमा ४१.७६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको नेपालमा हाल यो अनुपात घटेर करिब २०.२७ प्रतिशत मा झरेको छ । गरिबी न्यूनीकरणमा यो एक महत्वपूर्ण उपलब्धि मानिन्छ ।
शिक्षाको क्षेत्रमा पनि उल्लेखनीय परिवर्तन देखिएको छ । साक्षरता दर विगतमा ३९.६५ प्रतिशत मात्र रहेकोमा आज बढेर ७६.२५ प्रतिशत पुगेको छ । यसले शिक्षा पहुँच विस्तार र सामाजिक चेतनाको स्तर बढेको स्पष्ट पार्छ ।
स्वास्थ्य सूचकहरू झनै उत्साहजनक छन् । २०४७ मा औसत आयु पहिले ५४.८३ वर्ष रहेकोमा अहिले ७२.१९ वर्ष पुगेको छ । बाल मृत्यु दर पनि ठूलो रूपमा घटेको छ—पहिले प्रति हजार ९७ जना बालबालिकाको मृत्यु हुने अवस्थामा अहिले यो घटेर करिब १६ जनामा सीमित भएको छ ।
अर्थतन्त्रको सुदृढताको अर्को महत्वपूर्ण सूचक वैदेशिक मुद्रा सञ्चिति हो । कुनै समय ४०.२९ अर्ब रुपैयाँ रहेको वैदेशिक मुद्रा सञ्चिति हाल ४२१ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ, जसले देशको आर्थिक स्थायित्व र आत्मनिर्भरतातर्फको यात्रालाई बलियो बनाएको छ ।
प्रदेश सभा सदस्य पंथीले यी उपलब्धिहरूलाई “नकारात्मक सोचलाई चिर्दै आशा र सम्भावनाको नेपाल निर्माणतर्फको बलियो संकेत” का रूपमा व्याख्या गर्नु भएको छ । उहाँका अनुसार अझै धेरै गर्न बाँकी भए पनि, तथ्याङ्कले नेपाल निराशाको होइन, सम्भावनाको देश भएको प्रमाणित गरेको छ ।
“हामीले उपलब्धिलाई आत्मसात् गर्दै कमजोरी सुधारमा लाग्यौं भने समृद्ध नेपाल र सुखी नेपालीको सपना अवश्य साकार हुन्छ,” पंथीको भनाइ छ ।
यी सूचकहरूले हिजोको नेपालभन्दा आजको नेपाल बढी सक्षम, सचेत र भविष्यप्रति आशावादी बन्दै गएको सन्देश स्पष्ट रूपमा दिन्छन् ।








प्रतिक्रिया