अर्थ-वाणिज्य

नवलपरासी पूर्वमा तीन हजार सात सय छयालीस हेक्टर क्षेत्रमा तोरी खेती



मध्यविन्दु (नवलपरासी), १४ फागुन

नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन(तोरी) बालीतर्फ आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेसँगै जिल्लामा तेलहन बाली खेती गर्ने किसानको सङ्ख्या बढेको हो । अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसानहरू तोरीखेतीमा आकर्षित भएको कृषि विकास कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का कृषि अर्थ विज्ञ सञ्जय ढकालले बताउनुभयो । यस वर्ष जिल्लामा तीन हजार ७४६ हेक्टर क्षेत्रमा तोरी बाली लगाइएको ढकालले बताउनुभयो । गत वर्ष जिल्लामा तीन हजार ७२५ हेक्टर क्षेत्रमा तोरीखेती गरिएको थियो । गत वर्षको भन्दा यस वर्ष थप २१ हेक्टर क्षेत्रमा तोरीखेती विस्तार भएको कृषि अर्थविज्ञ ढकालले जानकारी दिनुभयो । “गत आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ७२५ हेक्टर क्षेत्रफलमा तेलहन बाली (तोरी) खेती हुँदा चार हजार ४३० मेट्रिक टन उत्पादन भएको थियो”, उहाँले भन्नुभयो, “यो वर्ष तीन हजार ७४६ हेक्टरमा खेती भएको छ उत्पादन चार हजार ६६७ मेट्रिक टन हुने अनुमान गरेका छौँ ।” जिल्लाको कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोट नगरपालिका क्षेत्रलाई तोरीको पकेट क्षेत्र मानिन्छ । यो वर्ष प्रतिहेक्टर १.२५ मेट्रिक टनले उत्पादन हुने अनुमान गरिएको तोरीखेतीप्रति कृषकहरूको आकर्षण बढ्दै गएको कृषि विकास कार्यालयका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो । “तोरी बाली लगाउन पनि सजिलो, खासै दुःख पनि नहुने भएकाले जिल्लामा तोरीखेती फस्टाएको छ”, उहाँले भन्नुभयो, “तोरीखेती बढ्नुको मुख्य कुरा भनेको मूल्य बढ्दै जानु र बजारमा आएका तेलमा मिसावट भएका कारणले जिल्लामा तोरीखेती गर्नेतर्फ किसानहरूको आकर्षण बढ्दै गएको हो ।” अठीदेखि ९० दिनमा तोरीखेती तयार हुन्छ । आफैँले उत्पादन गरेको तोरीको तेल गुणस्तरीय हुने र पिनासमेत मलको रूपमा प्रयोग गर्न पाइने भएकाले पनि किसानहरू तोरीखेतीप्रति आकर्षित हुँदै गएका छन् । वर्षौंदेखि तोरीखेती लगाउँदै आउनुभएका कावासोती नगरपालिका–१५ का धनपति अधिकारीले घरमा वर्षभरि खान र केही बेच्न पनि पुग्ने गरी तोरी लगाएको बताउनुभयो । “दुई तीन वर्षदेखि गाउँ घरमा पनि तोरीको माग बढेको छ”, उहाँले भन्नुभयो, “घरका लागि पनि स्वस्थ तेल प्रयोगका लागि बर्सेनि खेती गरेकोमा केही वर्षदेखि गाउँ घरमै बिक्रीका लागि पनि धेरै लगाउने गरेका छाँै ।” –––

प्रकाशित : १४ फाल्गुन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६