ब्रेकिंग न्युज

जाडो छल्न आएका चरा फर्किन थाले



चितवन, १५ फागुनः जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् । जाडो मौसम सुरु भएसँगै गत असोजबाट आउन सुरु गरेका चरा गर्मी सुरु भएसँगै फर्किन थालेका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रजातिका चरा जाडो छल्न आउने गर्दछन् । हरेक वर्ष अक्टोबरमा आउने ती चरा गर्मी सुरु भएसँगै फर्कन थालेका हुन् । फेब्रुअरीको
अन्तिम साताबाट फर्किन थालेका ती चरा मार्च अन्तिमसम्म सबै गईसक्ने नेपाल पन्छीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीले बताउनुभयो ।
यहाँ मङ्गोलिया, रुस, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायत देशबाट चरा आउने गर्दछन् । जाडो छल्न आउने ती चरा कालीगण्डकीको खोच हुँदै चितवनसम्म आइपुगेका थिए । जाडो छल्न हाँस प्रजातिका क¥याङकुरुङ, चखेवा, सुइरोपुच्छे«, मालक, खडखडे, बिजुला, गैरीसहित बाज, चिललगायत चरा यहाँ आउने गर्दछन् । वनमा आश्रित प्रजातिमा चाचर, चुइया, भारद्वाजसमेत आउने गरेको अध्यक्ष बिडारीले बताउनुभयो । यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा आएर बस्ने गर्दछन् । उहाँका अनुसार नेपाल बाहिरदेखि आएका १२ देखि १५ हाँस प्रजातिका चरा यहाँको नारायणी, राप्ती नदी र रिउखोलामा रमाउने गर्दछन् । नेपालमा १५० प्रजातिका चरा जाडो छल्न आगन्तुक रूपमा आउने गर्दछन् । यी चरा ६ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिणबाट उत्तर फर्कने अध्यक्ष बिडारीले जानकारी दिनुभयो । पृथ्वीको उत्तरी ध्रुवमा दिन छोटो र रात लामो हुने हुँदा चर्नका लागि समयसमेत नहुने हुँदा ती चरा आउने गरेको विज्ञ बताउँछन् ।
नेपालमा विशेषगरी सिमसार, घाँसेमैदान, वन र खेतबारीमा बस्ने चरा आउने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्ज चराका लागि उत्तम वासस्थानका रूपमा लिइन्छ । निकुञ्ज हुँदै बग्ने राप्ती, रिउसँगै नारायणी नदी र निकुञ्जभित्रका तालतलैया र वन क्षेत्रमा आगन्तुक चरा रमाउने गर्छन् । निकुञ्ज, मध्यवर्ती र सामुदायिक वन पनि पन्छीको राम्रो विचरण क्षेत्र हुन् । नेपालमा ९०२ प्रजातिका चरा पाइन्छन् भने चितवनमा मात्र ६५२ प्रजातिका चरा पाइन्छन् ।

यससँगै गर्मी मौसममा आउने चरा आउन थालेका छन् । अध्यक्ष बिडारीका अनुसार भारत हुँदै आउने ती चरा नेपाल छिर्न थालेका छन् । उहाँले भन्नुभयो, “जाडो छल्न आएका चरा फर्किन थालेका छन् भने गर्मीमा आउने चरा आउन थालेका छन् ।” गर्मीमा आउने चराले यही बच्चा कोरलेर जाडो सुरु भएसँगै फर्किने गर्दछन् ।

प्रकाशित : १५ फाल्गुन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६