ब्रेकिंग न्युज

सातबुँदे घोषणापत्र जारी गर्दै थारू साहित्य सम्मेलन सकियो



वीरगञ्ज (पर्सा), १८ माघः दशौँ थारू साहित्य राष्ट्रिय सम्मेलनले सातबँुदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । थारू लेखक सङ्घ नेपाल र थारू अतिथि सेवा सदन समितिको आयोजनामा पर्साको पटेर्वासुगौली गाउँपालिका–२ बेल्वामा सम्पन्न सम्मेलनले सातबुँदे घोषणापत्र जारी गरेर सम्पन्न भएको हो । थारू लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष डा कृष्णराज सर्वहारीले राष्ट्रिय सम्मेलनले थारू भाषा, साहित्य, संस्कृति, उन्नयनका लागि थारू साहित्यिक सङ्घ संस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरु एकजुट भएर सहकार्य गर्ने घोषणापत्र जारी गरेको बताउनुभयो । “थारू लोकसाहित्यका जानकार पुर्खालाई सम्मान गर्नाका साथै थारू साहित्यका विभिन्न विधामध्ये कुनै एक विधामा प्रतिस्पर्धा गराई पुरष्कृत गर्नेेछ,” उहाँले भन्नुभयो, “थारू लेखक सङ्घ नेपालद्वारा स्थापित थारू भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिने स्रष्टाहरुलाई सम्मान र पुरस्कारका लागि अक्षय कोषको राशि वृद्धि गर्दैै जाने घोषणापत्रमा उल्लेख गरिएको छ ।” सम्मेलन यही माघ १५ देखि १७ गतेसम्म पर्साको पर्टेवा सुगौली गाउँपालिकास्थित बेल्वामा भएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभाले सबै भाषा, साहित्यको संरक्षण, संवद्र्धन गर्ने राज्यको दायित्व र जिम्मेवारी रहेको बताउनुभयो । “भाषासहित्यको संरक्षणमा राज्यले अपनत्व लिनुपर्ने भइसकेको छ,” उहाँले भन्नुभयो, “प्रतिष्ठानले धेरै भाषाको पत्रिका प्रकाशन गरेर राम्रो सुरुआत गरेको छ ।” थारू लेखक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष सर्वहारीले थारू बालबालिकाका लागि पठनीय सामग्री नभएकाले पालिकाहरुले पाठ्यक्रम बनाई सामग्री उत्पादन गर्न तथा लेखकहरुले बढीभन्दा बढी बालसाहित्य सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । सम्मेलनमा थारू लेखक सङ्घबाट स्थापित रु ६० हजार राशिको थारू साहित्य पुरस्कार बाराका महाकवि हृदयनारायण चौधरी तथा रु ३० हजार राशिको थारू महिला प्रतिभा पुरस्कार कैलालीकी गायिका समीक्षा चौधरीलाई प्रदान गरिएको थियो । दशौँ थारू साहित्य राष्ट्रिय सम्मेलनको अवसरमा गरिएको कविता प्रतियोगितामा पहिलो हुने सत्यनारायण दहित (कैलाली), दोस्रो भिमेश चौधरी (दाङ देउखुरी) तथा तेस्रो प्रकृति पूजा (कञ्चनपुर) लाई उपकुलपति निभाले पुरस्कार प्रदान गर्नुभयो । साथै, दिल्ली विश्वविद्यालयबाट यसै वर्ष विद्यावारिधी गर्नुभएका बाराका निरज चौधरीलाई सम्मान गरियो । त्यस्तै, कार्यक्रममा मधुसूदन चौधरीको तितुली (थारू–नेपाली बालकविता सङ्ग्रह), चन्द्रमणि महतोको घुघें मामा घुघें (थारू बालगीत सङ्ग्रह), हृदयनारायण चौधरीको इतिहाँसो मिथेयास भेइसई मोहनप्रसाद थारू, सिक्छा सतक (कविता सङ्ग्रह) तथा लोर्हल सिरोहल खिस्सा परतोख (कथासङ्ग्रह), रीता चौधरी थारूको मत बैठा चुप (कविता सङ्ग्रह), मनिस, रोहन, प्रितम चौधरी थारूको तराईमा पाइने १०१ जडीबुटीहरु कृति प्रमुख अतिथिलगायत अन्य अतिथिबाट संयुक्त विमोचन भएको थियो । पटेर्वा सुगौली पटेर्वा सुगौली गाउँपलिकाका अध्यक्ष दिनेशकुमार चौधरीले थारू परम्परा र संस्कृतिको संरक्षण र संवद्र्धनमा जुटेको बताउनुभयो । थारू अतिथि सेवा सदन समितिका अध्यक्ष रामचन्द्र दहितले थारू कला संस्कृति र रीतिरिवाजलाई जीवन्त बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न विषयमा ६ शीर्षकको प्यानल छलफल भएको थियो । यस क्रममा बारा, पर्सा, रौतहटमा थारू भाषा साहित्यको अवस्थाबारे हृदयनारायण चौधरी, मोहनदास थारू, दिनेश चौधरी र भोलाराम चौधरी वक्ता हुनुहुन्थ्यो भने उदयराज भट्टराईले सहजीकरण गर्नुभएको थियो । थारू साहित्य र पुरस्कारको महत्व शीर्षकमा रामसागर चौधरी, शेखर दहित, बुद्धसेन चौधरी, शत्रुघन चौधरी वक्ता थिए भने सहजकर्ता भिमेश चौधरी रहनुभएको थियो । त्यस्तै, थारू साहित्यमा बालसाहित्यको अवस्थाबारे शान्तिचौधरी, सिएम अपिल चितौने, छविलाल कोपिला वक्ता तथा सहजीकरण डा कृष्णराज सर्वहारीले गर्नुभएको थियो । शिक्षण पेसा र सिर्जनात्मक लेखनबारे सञ्जय सुमन, अनिलप्रसाद राउत थारू, रीता चौधरी, जित ट्रासनले धारणा राखेकामा सहजीकरण मनोज अज्ञातले गर्नुभएको थियो । जेनजी पुस्ता र थारू समाज विषयमा अर्णव चौधरी, भूमिका थारू, सुरेशप्रसाद दास, कविता काव्यले विचार राखेकामा सहजकर्ता कृष्ण समर्पणले गर्नुभएको थियो । कार्यक्रममा कवितावाचन तथा थारू गीतमा नृत्य प्रस्तुत गरिएको थियो । आगामी २०८३ फागुनमा ११औँ थारू साहित्य राष्ट्रिय सम्मेलन चितवनमा गरिने सङ्घका जानकारी अध्यक्ष डा सर्वहारीले जानकारी दिनुभयो । थारू भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि बजेट विनियोजन गर्न स्थानीय पालिका, प्रदेश तथा सङ्घीय सरकारलाई दबाब दिनेलगायत सातबुँदे घोषणापत्र जारी गर्दै सम्मेलन समापन गरिएको उहाँले बताउनभयो । –––

Powered By  Orson Infotech

प्रकाशित : १९ माघ २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६