पकडी, कपिलवस्तु २० माघ
मायादेवी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, कपिलवस्तुले आर्थिक वर्ष २०८१÷०८२ मा सन्तोषजनक वित्तीय प्रगति हासिल गरेको छ । चालु आर्थिक वर्षको सार्वजनिक वित्तीय प्रगति विवरण अनुसार पालिकाले कुल विनियोजित बजेटको ९३.७६ प्रतिशत खर्च गर्न सफल भएको छ, जसले योजनाबद्ध बजेट कार्यान्वयन र वित्तीय अनुशासन क्रमशः सुदृढ हुँदै गएको संकेत देखा परेको छ ।
पालिकाले सार्वजनिक गरेको विवरण अनुसार संघीय सरकारबाट प्राप्त कुल बजेट ५८ करोड ४१ लाख ३९ हजार ७ सय २६ रुपैयाँ रहेको छ । यसमध्ये संघीय सरकारबाट ५२ करोड ७९ लाख ६४ हजार ३ सय ८१ रुपैयाँ आम्दानी भई ४९ करोड ४७ लाख ८५ हजार ९ सय ६२ रुपैयाँ खर्च गरिएको छ । संघीय अनुदानतर्फ ९३.७१ प्रतिशत खर्च प्रगति हासिल हुनु संघीय स्रोतको प्रभावकारी उपयोग भएको स्पष्ट संकेत मानिएको छ ।
प्रदेश सरकारबाट प्राप्त ३ करोड २४ लाख ९३ हजार रुपैयाँ बजेटमध्ये ३ करोड ४५ लाख ७ हजार २ सय २५ रुपैयाँ ५२ पैसा आम्दानी भई ३ करोड २३ लाख ८५ हजार ९ सय १२ रुपैयाँ ९५ पैसा खर्च गरिएको छ । यस शीर्षकअन्तर्गत ९३.८५ प्रतिशत खर्च प्रगति हासिल भएको छ, जुन संघीय बजेट खर्चसँग करिब समान स्तरमा रहेको छ ।
यसैगरी अन्य निकायबाट प्राप्त १५ लाख रुपैयाँ अनुदान शतप्रतिशत आम्दानी तथा खर्च भएको छ । यसले पालिकाले सीमित स्रोतहरूलाई समेत प्रभावकारी रूपमा परिचालन गर्न सकेको देखाउँछ ।
आन्तरिक आयतर्फ (जिल्ला समन्वय समितिको समेत) ९४ लाख २० हजार रुपैयाँ बजेटको तुलनामा १ करोड १३ लाख २८ हजार १ सय १९ रुपैयाँ ९२ पैसा आम्दानी भई शतप्रतिशत खर्च भएको देखिन्छ । अनुमानभन्दा बढी आन्तरिक आय संकलन हुनु पालिकाको राजस्व व्यवस्थापन क्षमता क्रमशः सुधार हुँदै गएको सकारात्मक संकेतका रूपमा हेर्न सकिन्छ ।
यद्यपि आन्तरिक आयको महत्वपूर्ण सम्भावना बोकेको नदीजन्य पदार्थ उत्खननबाट चालु आर्थिक वर्षमा कुनै पनि आम्दानी हुन नसक्नु चुनौतीको विषय बनेको छ । यसले आन्तरिक आय संरचनालाई थप विविधीकरण गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
स्थानीय राजश्व बाँडफाँडतर्फ ९३ लाख ८८ हजार रुपैयाँ बजेटमध्ये ७७ लाख ३३ हजार ५ सय २ रुपैयाँ खर्च भई ८७.४८ प्रतिशत प्रगति हासिल भएको छ । अन्य शीर्षकको तुलनामा यो प्रगति केही कम देखिए पनि समग्र वित्तीय अवस्थालाई कमजोर बनाउने खालको भने नरहेको देखिन्छ ।
कुलमा ६४ करोड ७८ लाख ६२ हजार रुपैयाँ कुल बजेटमध्ये ५८ करोड ४१ लाख ३९ हजार ७ सय २६ रुपैयाँ आम्दानी भई ५४ करोड ७७ लाख ३३ हजार ४ सय ९७ रुपैयाँ खर्च हुनु पालिकाको समग्र वित्तीय कार्यसम्पादन सन्तोषजनक रहेको पुष्टि हुन्छ ।
संघीय तथा प्रदेश सरकारबाट प्राप्त बजेट उच्च प्रतिशतमा खर्च हुनु योजनाहरू समयमै कार्यान्वयन भएको सूचक हो । आन्तरिक आय अनुमानभन्दा बढी संकलन हुनु सकारात्मक उपलब्धि भए पनि आन्तरिक आयका स्रोतहरू अझै सीमित अवस्थामा रहेका छन् । नदीजन्य पदार्थबाट शून्य आम्दानी हुनु दीर्घकालीन राजस्व सम्भावनाको उपयोग हुन नसकेको अवस्था देखिन्छ । कुल खर्च प्रतिशत ९३.७६ हुनु सुशासन, वित्तीय अनुशासन र कार्यक्षमतातर्फ पालिका उन्मुख रहेको सन्देश दिन्छ ।
आगामी दिनमा राजश्व वृद्धि तथा वित्तीय सुदृढीकरणका तपशिलता विषयमा ध्यान दिनु आवश्यक छ ।
कानूनी, वातावरणीय तथा संस्थागत समन्वय कायम गरी नदीजन्य पदार्थ उत्खननलाई व्यवस्थित गर्न सके आन्तरिक आयको दिगो स्रोत विकास गर्न सकिन्छ ।
आन्तरिक राजस्वको दायरा विस्तारका लागि व्यवसाय कर, सेवा शुल्क, सम्पत्ति कर तथा स्थानीय सेवा उपयोग शुल्कको वैज्ञानिक पुनरावलोकन गरी करको दायरा विस्तार गर्न आवश्यक छ ।
डिजिटल राजस्व प्रणाली सुदृढीकरणका लागि राजस्व संकलनमा डिजिटल भुक्तानी प्रणाली अनिवार्य गर्दै चुहावट नियन्त्रण र पारदर्शिता वृद्धि गर्न सकिन्छ ।
आम्दानी अनुमान यथार्थपरक बनाउन विगतका तथ्यांक, आर्थिक गतिविधि र सम्भावनाको विश्लेषणका आधारमा बजेट अनुमान तयार गर्दा कार्यान्वयन अझ प्रभावकारी हुन्छ ।
निजी क्षेत्रसँगको सहकार्य विस्तार आवश्यक छ । जसका लागि पर्यटन, बजार व्यवस्थापन, पार्किङ तथा सेवा केन्द्रहरूमा निजी क्षेत्रसँग सहकार्य गरी नयाँ आय स्रोत सिर्जना गर्न सकिन्छ । खर्चको गुणस्तरमा जोड दिदै उच्च खर्च प्रतिशतसँगै खर्चको प्रतिफल, गुणस्तर र दीगोपनामा विशेष ध्यान दिनु आवश्यक छ ।
यी तथ्यका आधारमा मायादेवी गाउँपालिकाको चालु आर्थिक वर्षको वित्तीय अवस्था सन्तोष जनक रहेको प्राप्त विवरणले देखाउन्छ । आगामी दिनमा पालिकाले आन्तरिक आयका दिगो स्रोत पहिचान र राजस्व व्यवस्थापन सुधार गर्न सके पालिका अझ आत्मनिर्भर, सक्षम र प्रभावकारी स्थानीय सरकारका रूपमा स्थापित हुने विश्वास गर्न सकिन्छ ।








प्रतिक्रिया