कपिलवस्तु, २६ माघ
कपिलवस्तु प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ फाल्गुण २१ लाई लक्षित गर्दै नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका विश्राम प्रसाद चौधरीले ‘सीपयुक्त युवा, आत्मनिर्भर समाज’ निर्माणलाई आफ्नो मूल ध्येयका रूपमा अघि सारेका छन्।
शनिबार नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १, कपिलवस्तुको ओदारी क्षेत्रमा स्थापना गरिएको सम्पर्क कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार चौधरीले जिल्लाको समग्र विकासका लागि स्पष्ट दृष्टिकोण र प्रतिबद्धता सार्वजनिक गरेका हुन्।
उनले समग्र राष्ट्रलाई संक्रमणकालीन अवस्थाबाट निकास दिलाउन आगामी फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन निर्णायक रहेको उल्लेख गर्दै नेकपा (एमाले) एक सशक्त राष्ट्रिय शक्तिका रूपमा पुनः जनअनुमोदित हुन एकढिक्का भएर अघि बढिरहेको बताए।
कपिलवस्तु जिल्लाको क्षेत्र नं. १ बाट एक सशक्त, जुझारु तथा समाजसेवी व्यक्तित्वका रूपमा आफूलाई उम्मेदवार बनाएकोमा पार्टीप्रति आभार व्यक्त गर्दै चौधरीले जिल्लाको समग्र विकासका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाए।
उनले जिल्ला तथा निर्वाचन क्षेत्रको भौतिक पूर्वाधार विकास तथा विस्तार, आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धि, वातावरणीय संरक्षण, संस्थागत विकास तथा सुशासन, शैक्षिक सुधार, युवाहरूको व्यावसायिक सीप विकास र रोजगारी सिर्जनाका क्षेत्रमा विशेष पहलकदमी लिने बताए।

“सीपयुक्त युवा नै आत्मनिर्भर समाजको आधार हुन्,” भन्दै चौधरीले युवालाई रोजगारीमुखी सीप, उद्यमशीलता र आत्मनिर्भरतातर्फ उन्मुख गराउने नीति आफूले प्राथमिकतामा राखेको स्पष्ट पारे।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा नेकपा (एमाले) का नेता, कार्यकर्ता तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।








प्रतिक्रिया