जीवनशैली

कञ्चनपुरमा पाँच हजार ६७८ किशोरीलाई आजदेखि ‘एचपिभी’ खोप लगाइँदै



कञ्चनपुर, २७ माघ ः पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरमा आजदेखि ‘एचपिभी’ खोप अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाभरका पाँच हजार ६७८ जना छात्रा तथा किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य लिएको छ । आजदेखि फागुन १ गतेसम्मका लागि जिल्लामा खोप अभियन सञ्चालन गरिएको छ ।
स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनकबहादुर कुँवरका अनुसार यस वर्षको अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिरका १० वर्ष उमेरका किशोरीलाई खोप लगाइँदैछ । गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई समेत खोप लगाइने उहाँले जानकारी दिनुभयो ।
“प्रत्येक विद्यालयमा खोप केन्द्र निर्धारण गरी कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ”, अधिकृत कुँवरले भन्नुभयो, “विद्यालयमा खोप लगाउन छुटेका वा विद्यालय बाहिर रहेका किशोरीका लागि फागुन १ गते नजिकैको स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था मिलाइएको छ ।”
खोप अभियान सञ्चालनका लागि जिल्लाका नौवटै स्थानीय तहमा विद्यालय र स्वास्थ्य संस्था गरी जम्मा ४६५ खोप केन्द्र निर्धारण गरिएको छ । तीमध्ये ३६२ वटा विद्यालय र १०३ वटा स्वास्थ्य संस्थामा खोप केन्द्र निर्धारण गरिएको छ । भीमदत्त नगरपालिकामा सबैभन्दा बढी एक हजार ३९०, कृष्णपुर नगरपालिकामा ८४३, पुनर्वास नगरपालिकामा ७४३, बेदकोट नगरपालिकामा ६०६, शुक्लाफाँटा नगरपालिकामा ५४७ जना किशोरीलाई खोप लगाउने कार्यक्रम छ ।
त्यसैगरी, बेलौरी नगरपालिकामा ५६१, दोधारा चाँदनी नगरपालिकामा ५१०, लालझाडी गाउँपालिकामा २५० र बेलडाँडी गाउँपालिकामा २२८ किशोरीलाई खोप लगाउने लक्ष्य रहेको अधिकृत कुँवरले जनाकारी दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाठेघरको मुखको क्यान्सर महिलामा हुने क्यान्सरमध्ये उच्च जोखिमयुक्त रोग हो । नेपालमा पनि महिलामा देखिने क्यान्सरमध्ये यो पहिलो स्थानमा रहेको र यसको प्रमुख कारण ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) रहेको अध्ययनहरूले देखाएका छन् । स्वास्थ्यकर्मीका अनुसार किशोरी अवस्थामै एचपिभी खोप लगाउनु क्यान्सर रोकथामका लागि सबैभन्दा प्रभावकारी उपाय हो । प्रारम्भिक चरणमा लक्षण नदेखिने भएकाले ३० वर्ष पूरा भएका महिलाले नियमित रूपमा पाठेघरको मुखको जाँच (स्क्रिनिङ) गराउनुपर्ने चिकित्सकहरूको सुझाव छ ।
खोप अभियान सञ्चालनका लागि प्रत्येक खोप केन्द्रमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालगायतलाई परिचालन गरिएको छ । सबै खोप केन्द्रमा खोपसहित आवश्यक सामग्री पुर्याइसकिएको कोल्डचेन अधिकृत कुँवरले जानकारी दिनुभयो । खोप लगाउने लक्षित समूह कोही पनि नछुटुन् भनेर विशेष सावधानी अपनाइएको उहाँको भनाइ छ । सरकारले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत देशभर किशोरीलक्षित एचपिभी खोप अभियान सञ्चालन गर्दै आएको छ ।

प्रकाशित : २८ माघ २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६