देश

सञ्चार मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षाः पुँजीगत खर्च बढाइनु पर्नेमा जोड



काठमाडौँ, १ फागुन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत खर्च बढाएर जनतालाई सुशासनको प्रत्याभूत हुनेगरी कार्यसम्पादन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बद्ध निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ । बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सचिव बस्नेतले मन्त्रालयअन्तर्गतका निकायले समस्याको पहिचानसँगै त्यसको निदान गरी जनताले प्रतिफल पाउन सक्नेगरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । सचिव बस्नेतले अन्तरनिकायको प्रभावकारी समन्वयका साथ सेवा प्रभावलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाँले बेरुजु फछ्र्योटमा ध्यान दिन पनि आग्रह गर्नुभयो । सचिव बस्नेतले भन्नुभयो, “मन्त्रालय र अन्तर्गतका निकायको बेरुजु फछ्र्योटका लागि ध्यान दिन सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । यसका लागि मन्त्रालयले कार्ययोजना बनाएर नियमित अनुगमनका साथ समन्वय र सहजीकरण गर्नेछ ।” मन्त्रालयअन्तर्गतका निकायमा बजेट अभाव, समन्वय कमी, प्रक्रियागत झन्झट आदिले नतिजामुखी हुन नसकेको सचिव बस्नेतको भनाइ छ । उहाँले कार्यान्वयनयोग्य योजनाको प्राथमिकीकरण गर्न तथा योजना बैंकमा समावेश गर्नुपर्ने योजनाहरूलाई समयमै मन्त्रालयमा उपलब्ध गराउन समेत आग्रह गर्नुभयो । राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दीप राईले राससको चालु आवको कार्यक्रम सन्तोषजनक रहेको बताउनुभयो । अस्थायी तथा करार सेवामा रहेका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको, संस्थागत संरचना र नीतिगत सुधारका काम गरिएको भन्दै मन्त्रालयमातहतका अन्तरनिकायको बलियो समन्वय जरुरी रहेको उल्लेख गर्नुभयो । सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालका अध्यक्ष डा महेन्द्र विष्टले पिएसबीको मर्म र भावनाअनुरूप स्रोतसाधनको सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभयो । अर्थ मन्त्रालयका उपसचिव कमला खरेलले राजस्वभन्दा दायित्व बढिरहेको सन्दर्भमा चालु खर्च घटाइ मितव्ययीता अपनाउनुपर्नेमा जोड दिनुभयो । सञ्चारसम्बद्ध निकायका प्रमुख एवं प्रतिनिधिहरूले आआफ्नो कार्यालयले गरेको कार्यसम्पादन, चुनौती र आगामी योजनाबारे जानकारी गराउँदै अन्तरमन्त्रालय समन्वय अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए । मन्त्रालयहरूबीच समन्वय हुन नसक्दा कार्यसम्पादन प्रभावकारी हुन नसकेको उनीहरूको भनाइ थियो । रासस, पिएसबी नेपाल, गोरखापत्र संस्थान, विज्ञापन बोर्ड, चलचित्र विकास बोर्ड, हुलाक सेवा विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, सामाजिक सुरक्षा कोष, सूचना तथा प्रसारण विभाग, सुरक्षण मुद्रण केन्द्रलगायत निकायले कार्यप्रगति प्रस्तुत गर्दै स्रोतसाधन र समन्वय भएको कार्यप्रगतिले गति लिने विश्वास व्यक्त गरे । मन्त्रालयका अनुसार चालु आवको दोस्रो त्रैमासिक समीक्षा अवधिमा मन्त्रालयअन्तर्गतका १९ निकायमध्ये आठवटा निकायको ३० प्रतिशतभन्दा माथि प्रगति भएको छ । तीनवटा निकायको ४० प्रतिशत, एउटामात्रै निकायको ७० प्रतिशत वित्तीय प्रगति भएको छ भने दुईवटा निकायको १० प्रतिशतभन्दा कम प्रगति भएको देखिएको छ । चालु आवको अर्धवार्षिक अवधिमा मन्त्रालय र मातहतका निकायको विनियोजित बजेटमा चालुतर्फ ८७.९३ प्रतिशत र पुँजीगततर्फ १५.८३ प्रतिशतमात्र खर्च भएको छ ।

प्रकाशित : १ फाल्गुन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६