ब्रेकिंग न्युज

सङ्घर्ष जारी छ, अबको सङ्घर्ष उत्पादनका लागि हुन्छ : संयोजक दाहाल



रुकुमपूर्व, १ फागुन

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धदेखि सुरु भएको सङ्घर्ष उत्पादन र समृद्धिको चरणमा आइपुगेको बताउनुभएको छ । रुकुमको भूमे–२, खाबाङ्ग बगरमा ३०औँ जनयुद्ध दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले नयाँ पुस्ताले उठाएका मागहरूलाई जनयुद्धकै निरन्तरता भएको उल्लेख गर्नुभयो । “जेनजी पुस्ताले उठाएका मागहरू शान्ति प्रक्रियाका क्रममा उठाइएका तर शक्ति सन्तुलनका कारण पूरा हुन नसकेका मुद्दाहरूको निरन्तरता हुन्”, उहाँले भन्नुभयो, “मुद्दाहरू बाँकी छन्, सपनाहरूको हिसाब अझै भएको छैन, हामीले त्यो बिर्सेका छैनौँ ।” संविधान जारी भएको एक दशकमा विभिन्न सुधारका प्रयास गरिएको उल्लेख गर्दै संयोजक दाहालले सरकारमा रहँदा एक वर्षभित्र पाँच लाख भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने नीति तथा बजेट ल्याइएको जानकारी दिनुभयो । त्यसका लागि कानुन संशोधन गरिए पनि सरकारबाट बाहिरिएपछि कार्यक्रम रोकिएको उहाँको भनाइ थियो । विदेशबाट फर्केका युवालाई लक्षित उद्यमशीलता कार्यक्रमले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै उहाँले अबको युद्ध उत्पादनसँग जोडिने बताउनुभयो । उहाँले सूचना प्रविधि, पर्यटन, कृषिलगायत क्षेत्रमा आगामी पाँच वर्षभित्र २० लाखभन्दा बढी रोजगारी र स्वरोजगारी सृजना गर्न सकिने दाबी गर्नुभयो । पाँच वर्षसम्म स्थिर सरकार सञ्चालन गर्न नपाउँदा राम्रा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन नसकेको अनुभव सुनाउँदै संयोजक दाहालले दोहोरो जिम्मेवारी भएका निकाय गाभ्ने, सङ्घीय संरचनामा दोहोरिएका कार्यक्रम हटाउने तथा नीति–बजेट प्रक्रियामा सुधार गर्ने प्रयासहरू अधूरै रहेको बताउनुभयो । कुशासन र भ्रष्टाचार बढ्दै जाँदा जनताको आक्रोशले व्यवस्था नै सङ्कटमा पर्न सक्ने चेतावनी आफूले पटकपटक दिएको उल्लेख गर्दै उहाँले वर्तमान परिस्थिति त्यसैको परिणाम भएको दाबी गर्नुभयो । “मेरो आजको लडाइँ रुकुमको समृद्धि र समग्र देशको विकासका लागि हुनेछ”, उहाँले भन्नुभयो । लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै अधुरा एजेन्डा पूरा गर्न नयाँ ऊर्जा, उत्पादनमुखी अभियान र राष्ट्रिय एकताको आवश्यकता रहेको उहाँको जोड थियो । ‘इतिहास र वर्तमान जोडेरमात्रै सुदृढ भविष्य निर्माण हुन्छ’ संयोजक दाहालले इतिहास र वर्तमानलाई जोडेर मात्रै राष्ट्रको भविष्य सुदृढ गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले फागुन १ केवल गौरवमय अतीतको स्मरणमात्र नभई वर्तमानको जिम्मेवारी र भविष्यको मार्गदर्शनसमेत भएको उल्लेख गर्नुभयो । उहाँले सामन्ती राज्यसत्ताविरुद्ध स्वतन्त्रता, समानता र न्यायका पक्षमा नेपाली जनताले ऐतिहासिक विद्रोहको मशाल यही दिन प्रज्ज्वलित गरेको बताउनुभयो । रुकुमपूर्वलाई क्रान्ति र शान्तिको साक्षी भूमि भन्दै उहाँले यही ठाउँबाट वंशमा आधारित शासन व्यवस्थाविरुद्ध विद्रोह सुरु भएको स्मरण गर्नुभयो । महिलाहरूले घुम्टो फालेर स्वतन्त्रताको आवाज उठाएको, आदिवासी जनजाति समुदायले पहिचान र स्वाभिमानका लागि सङ्घर्ष गरेको तथा दलित समुदायले जातीय उत्पीडनविरुद्ध आवाज बुलन्द गरेको दिन फागुन १ भएको उहाँको भनाइ छ । सहिदको सम्मान जनयुद्ध दिवसका अवसरमा संयोजक ‘प्रचण्ड’ले सहिद परिवार, घाइतेलाई सम्मान गर्नुभएको छ । तीसौँ जनयुद्ध दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँ र पार्टीका नेतृ पम्फा भुसालले सहिद, बेपत्ता परिवार तथा घाइतेहरूलाई सम्मान गर्नुभएको हो । जनयुद्ध दिवस मनाउन जनयुद्धको आधार इलाका रुकुमपूर्व पुग्नुभएका संयोजक दाहालले जिल्लाको विभिन्न ठाउँमा सहिद परिवार, घाइते, अपाङ्ग, बेपत्ता परिवारहरूसँग भेटघाट जारी राख्नुभएको छ । सहिद परिवारलाई सम्मान गर्नुअघि संयोजक दाहालले भुमे–७ लाबाङ र ६ को महत गाउँमा पुगेर त्यहाँका सहिद परिवार, घाइते, अपाङ्ग र बेपत्ता परिवारसँग भेटघाट गर्नुभयो । प्राचण्डको हातबाट सम्मानपत्रले सम्मानित हुन पाउँदाको पल आफ्ना लागि अत्यन्तै खास रहेको भुमे–१ लुकुमका सहिद परिवारका व्यक्ति कलुराम विकले बताउनुभयो । यस्तै सोही ठाउँका अर्का सहिद परिवारका व्यक्ति रणबहादुर घर्तीले पनि आज आएर प्रचण्डको हातबाट सम्मानित हुन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै उहाँले रुकुमपूर्वबाट प्रचण्डलाई चुनाव जिताएर पठाउने बताउनुभयो । रुकुमपूर्वमा २५२ जना सहिद परिवार छन् । —

Powered By  Orson Infotech

प्रकाशित : १ फाल्गुन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६