ब्रेकिंग न्युज

प्रधानमन्त्री कार्की र संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपतिबीच टेलिफोन संवाद



काठमाडौँ, २३ फागुन

प्रधानमन्त्री सुशीला कार्कीले आज अपराह्न संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति हिज हाइनेस शेख मोहमद बिन जायद अल नाह्यानसँग टेलिफोन संवाद गर्नुभएको छ । संवादका क्रममा प्रधानमन्त्री कार्कीले युएईको सार्वभौम क्षेत्रमा नागरिक पूर्वाधारलाई लक्षित गरी गरिएका आक्रमणहरूको निन्दा गर्दै यस विषम परिस्थितिमा संयुक्त अरब इमिरेट्सलाई नेपालका तर्फबाट ऐक्यबद्धता व्यक्त गर्नुभयो । उहाँले यस परिस्थितिमा सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयम अपनाउन, तनावलाई थप नबढाउन र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्नुभएको छ । युद्ध कहिल्यै शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले कूटनीति र संवादको माध्यमबाट मात्र दिगो शान्ति सम्भव हुने बताउनुभएको र परिस्थिति सकेसम्म चाँडो सामान्य अवस्थामा फर्कने अपेक्षा व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कार्कीले सार्वजनिक सुरक्षा सुनिश्चित गरेकामा र त्यहाँ काम गर्ने तथा बसोबास गर्ने नेपाली नागरिकसहित सबै बासिन्दा, आगन्तुक र ट्रान्जिटमा रहेका मानिसको समान रूपमा हेरचाह गरेकामा युएई सरकारप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । १ मार्च २०२६ मा जायद अन्तरराष्ट्रिय विमानस्थलमा ड्युटीको क्रममा एक नेपाली नागरिकले आफ्नो अमूल्य जीवन गुमाएको थाहा पाउँदा आफूलाई धेरै दुःख लागेको उहाँले बताउनुभएको थियो । साथै ५ मार्च २०२६ मा अबुधाबीको आइसिएडी क्षेत्रमा २ जना नेपाली घाइते भएको जानकारी पाउँदा चिन्ता लागेको प्रधानमन्त्री कार्कीले बताउनुभयो । त्यस अवसरमा प्रधानमन्त्री कार्कीले शान्ति र विकासलाई प्रवर्द्धन गर्न क्षेत्रीय तथा वैश्विक कूटनीतिक प्रयासमा गरेको निरन्तर योगदानप्रति युएईका राष्ट्रपतिको कुशल नेतृत्वको उच्च प्रशंसा गर्नुभयो । आगामी वर्षहरूमा आर्थिक साझेदारी र जनता–जनताबीचको सम्बन्धलाई थप बलियो बनाउँदै हाम्रो द्विपक्षीय सम्बन्ध थप विस्तारित र सुदृढ हुँदै जाने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । प्रधानमन्त्री कार्कीले महामहिम राष्ट्रपति, युएई सरकार र युएई जनतालाई यस क्षेत्रमा दिगो शान्ति सुनिश्चित गर्न सफलता मिलोस् भनी नेपालको तर्फबाट शुभकामना व्यक्त गर्नुभयो । उहाँले पवित्र रमजानको अवसरमा शान्ति, न्याय र सद्भावको लागि समेत हार्दिक शुभकामना व्यक्त गर्नुभयो । टेलिफोन संवादका क्रममा उहाँले हालको तनावको अवस्था लामो समयसम्म नरहने र अन्ततः नयाँ कूटनीतिको लागि ठाउँ उपलब्ध गराउने विश्वास व्यक्त गर्दै नेपाल वर्तमान तनावको प्रत्यक्ष पक्ष नभए पनि यसको परिणाम भोगिरहेको बताउनुभयो । प्रधानमन्त्री कार्कीले तत्कालका लागि नेपाली नागरिकहरूको सुरक्षा चिन्ता र दीर्घकालीन रूपमा बढ्दो इन्धनको मूल्य, लगानी प्रवाहमा संकुचन र बढ्दो मुद्रास्फीतिसहित व्यापक आर्थिक दबाबहरूको सामना गरिरहनुपरेको बताउनुभयो । ट्रान्जिटमा रहेका यात्रुहरू बिस्तारै नेपाल वा तेस्रो देशहरूमा आ–आफ्ना गन्तव्यहरूमा सुरक्षित रूपमा प्रस्थान गर्न सक्ने कुरामा पनि उहाँले विश्वास व्यक्त गर्नुभयो । युएईका राष्ट्रपतिले यस विषम परिस्थितिमा नेपालले एक असल मित्रराष्ट्रको रूपमा प्रस्तुत गरेको ऐक्यबद्धता र सहानुभूतिप्रति युएईको तर्फबाट प्रधानमन्त्री कार्कीलाई धन्यवाद व्यक्त गर्नुभएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । युएईका राष्ट्रपति एक जना नेपालीले ड्युटीमा रहेका बखत २०२६ मार्च १ मा जायद अन्तरराष्ट्रिय विमानस्थलमा भएको घटनामा परी ज्यान गुमाउनु परेकामा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गर्नुभयो । उहाँले नेपाल र युएईबीच कायम रही आएको सुमधुर र मित्रवत् सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै नेपालीको मेहनती बानी र असल आचरणको प्रशंसा गर्नुभयो । यसका साथै संवादका क्रममा युएईका राष्ट्रपतिले दुवै मुलुकका राजदूतहरूले नेपाली नागरिकको सुरक्षा तथा हित संरक्षणका लागि सक्दो प्रयास गरिरहेको बताउनुभयो । साथै नेपालीको सुरक्षाको प्रत्याभूतिका लागि सबै किसिमको पहल गर्न आफू तत्पर रहेको उहाँले विश्वास दिलाउनुभयो । —

Powered By  Orson Infotech

प्रकाशित : २३ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६