बिर्तामोड (झापा), ३० फागुन
पूर्वप्राज्ञ स्वर्गीय दान खालिङलाई मरणोपरान्त ‘पूर्णटुङ्ग आदर्श नागरिक सम्मान-२०८२’ प्रदान गरिएको छ । जय नेपाल प्रतिभा प्रोत्साहन पुरस्कारद्वारा आयोजित कार्यक्रममा उहाँलाई रु एक लाख ११ हजार १११ राशिसहितको सम्मान प्रदान गरिएको हो । कार्यक्रममा बिर्तामोडस्थित लिटल फ्लावर आवासीय स्कुलले रु एक लाख ११ हजार १११ तथा टावर टेम्पल बोर्डिङ स्कुलले रु २५ हजार नगदसहित स्व खालिङप्रति सम्मान व्यक्त गरेका हुन् । सो सम्मान खालिङ परिवारका तर्फबाट उहाँका भतिज नवीन खालिङ, भतिजी नाओमी खालिङ र भतिजबुहारी निता खालिङले ग्रहण गर्नुभयो । कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी, नेपाल पत्रकार महासङ्घ संस्थापक महासचिव चन्द्र भण्डारीले स्व खालिङ नेपाली साहित्यका विशिष्ट स्रष्टा भएको उल्लेख गर्दै उहाँले दार्जिलिङमा जन्मिएर पनि नेपालमा रहेर साहित्य, भाषा तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुभएको स्मरण गर्नुभयो । उहाँले खालिङको जीवनी, साहित्यिक सिर्जना र झापा जिल्लामा पुर्याउनुभएको योगदान स्मरणीय रहेको चर्चा गर्नुभयो । प्रतिष्ठानका संस्थापक गोपाल बस्नेत, श्याम बस्नेत र जितेन्द्र बस्नेतले खालिङ परिवारलाई सम्मान हस्तान्तरण गर्नुभएको थियो । शिक्षासेवी राजेश खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सहभागीले स्व खालिङले नेपाली साहित्य र समाजमा पुर्याउनुभएको योगदान दीर्घकालसम्म स्मरणीय रहने धारणा व्यक्त गर्नुभयो । यो पुरस्कार २०८० मा महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई संयुक्त रूपमा प्रदान गरिएको थियो । पूर्वप्राज्ञ खालिङ झापाको बिर्तामोडमा रहेर लामो समय शैक्षिक अभियान र साहित्यिक लेखनमा सक्रिय हुनुहुन्थ्यो ।







प्रतिक्रिया