काठमाडौँ, ५ चैत
राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिनुभएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचन परिणामसहितको प्रतिवेदन प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६२ बमोजिम आज बुझ्नुहुँदै उहाँले यस्तो बताउनुभएको आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुहुँदै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनका सम्बन्धमा सम्पादन गरिएका काम र निर्वाचन परिणामको सारसङ्क्षेप प्रस्तुत गर्नुभयो । निर्वाचन परिणामअनुसार प्रतिनिधिसभा सदस्यमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ छ वटा राजनीतिक दलका १६४ जना र एक जना स्वतन्त्र उम्मेदवार गरी जम्मा १६५ जना उम्मेदवार निर्वाचित हुनुभएको छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ छ वटा राजनीतिक दलका ११० जना उम्मेदवार निर्वाचित हुनुभएको छ । कुल २७५ जना सदस्य रहेको प्रतिनिधिसभामा पुरुष १७९ र महिला ९६ निर्वाचित हुनुभएको छ । समावेशी विवरणअनुसार आदिवासी जनजाति समूहतर्फ २१.०९, खसआर्य समूहतर्फ ४९.०९, थारु समूहतर्फ ३.२७, दलित समूहतर्फ ६.१८, मधेसी समूहतर्फ १६.७३ र मुस्लिम समूहतर्फ ३.६४ प्रतिशत सदस्य निर्वाचित हुनुभएको पत्रकार सम्मेलनमा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा भाग लिने प्रयोजनका लागि १२ राजनीतिक दलले पाँच वटा र १०२ राजनीतिक दलले आ–आफ्नो चुनाव चिह्न लिइ निर्वाचनमा भाग लिने गरी जम्मा ११४ दलले १०७ वटा चुनाव चिह्नमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन दल दर्ता गराएका थिए । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा चुनाव चिह्नमा ६५ राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ वटा निर्वाचन चिह्नमा ६३ राजनीतिक दल निर्वाचनमा सहभागी थिए । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ महिला ३८८, पुरुष तीन हजार १७ र अन्यबाट एक गरी कुल तीन हजार ४०६ जनाको अन्तिम उम्मेदवारी कायम रहेको थियो । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ महिला एक हजार ७७२ र पुरुष एक हजार ३६३ गरी तीन हजार १३५ जना उम्मेदवारको अन्तिम बन्दसूची कायम गरिएको उहाँले बताउनुभयो । निर्वाचनका लागि महिला ९२ लाख ४० हजार १३१, पुरुष ९६ लाख ६३ हजार ३५८ र अन्य २०० गरी कुल १ करोड ८९ लाख ०३ हजार ६८९ मतदाता कायम रहेका थिए । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिहरूमध्येबाट मतदाता नामावली ऐन, २०७३ को दफा ३० बमोजिम तयार गरिएको अस्थायी मतदाता नामावलीमा एक लाख ८६ हजार १४२ मतदाता रहेका थिए । अस्थायी मतदाताहरूलाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ मतदान गर्ने व्यवस्था मिलाइएको थियो । पहिलो हुने निर्वाचित हुने निर्वाचनमा एक करोड ११ लाख ६८ हजार ३२ मतदान भएकामा एक करोड पाँच लाख ५९ हजार १७ (९४.५५प्रतिशत) मत सदर भएकामा ५.४५ प्रतिशत मत बदर भएको छ । यस्तै समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ८१७ मतदान भएकोमा एक करोड आठ लाख ३५ हजार २५ (९६.०५ प्रतिशत) मत सदर भएकोमा ३.९५ प्रतिशत मत बदर भएको छ । दुवै निर्वाचन प्रणालीतर्फ गरी औसत बदर मतको प्रतिशत ४.७ रहेको आयोगले जनाएको छ । —
Powered By Orson Infotech







प्रतिक्रिया