कर्णाली, ५ चैत ः गत फागुन २३ गते बलात्कारपछि हत्या भएको भनिएको इनिशा मृत्यु प्रकरण कर्णाली प्रदेशसभामा प्रवेश गरेको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको आज बसेको पाँचौँ बैठकमा भाग लिँदै प्रदेशसभा सदस्य कृष्णबहादुर जिसीले इनिशा विकको हत्या प्रकरणले समाजको निकै डरलाग्दो अवस्थामा पुगेको बताउनुभयो । युट्युबहरूले आफ्ना ‘भ्यूज’ र ‘सब्सक्राइबर’ बढाउने कार्यले पीडित परिवारलाई झनै पीडा बनाएको भन्दै उहाँले पीडित परिवारलाई न्याय पुग्नेगरी अनुसन्धान अगाडि बढाउन सरकारको ध्यानाकर्षण गर्नुभयो ।
त्यस्तै प्रदेशसभा सदस्य उर्मिला विश्वकर्माले कर्णालीका महिला तथा बालबालिकाको अवस्था निकै दर्दनाक रहेको भन्दै उनीहरूको मानवअधिकार संरक्षणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गर्नुभयो । सदस्य रनसिंह परियारले इनिशा मृत्यु प्रकरणको अनुसन्धान प्रक्रियालाई तीव्रता दिनुपर्ने भन्दै पीडितलाई न्याय दिलाउन र शव उठाउने व्यवस्था मिलाउन प्रदेश सरकारलाई अनुरोध गर्नुभयो ।
मुख्यमन्त्री यामलाल कँडेलले उक्त मृत्यु प्रकरणमा समवेदना प्रकट गर्दै पीडितपरिवारलाई भेटेको कुरालाई सामाजिक सञ्जालले बङ्ग्याएर गलत प्रचार गरेको बताउनुभयो । मृत्युमाथि कुनै राजनीति र कपट नुहँदै भन्दै उहाँले सदनमा उठेको आवाजले पनि ध्यानाकर्षण गराएको र पीडित परिवारको न्यायका लागि कर्णाली प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
उक्त बैठकमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा टेबुल गर्नुभयो । त्यस्तै, सामाजिक विकास समितिका सभापति पूर्णप्रसाद चालिसेलाई कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको संशोधन प्रस्तावको प्रतिवेदन प्रस्तुत गर्नुभयो । बैठकमा प्रदेशसभा सदस्यहरू बेदराज सिंह, जीतबहादुर मल्ल, देवेन्द्र शाही, बलिमाया बुढा, मिलन खड्काले आफ्नो भनाइ राख्नुभएको थियो ।







प्रतिक्रिया