काठमाडौँ, ६ चैत
नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य भीष्मराज आङ्दम्बे तथा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्वेलाई पितृशोक परेको छ । आङ्देम्बेका बुबा प्रजातन्त्र सेनानी घनेन्द्रराज आङ्दम्बेको ८४ वर्षको उमेरमा पाँचथरको जिल्ला सदरमुकाम फिदिममा आज दिउँसो ४ः३० बजे निधन भएको हो । स्व आङ्दम्बे नेपाल प्रजातन्त्र सेनानी सङ्घ पाँचथरको निवर्तमान सभापति, कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको पूर्वउपसभापति र साविक नवमिडाँडा गाउँ विकास समितिको दुई कार्यकाल अध्यक्ष हुनुहुन्थ्यो । स्व आङ्दम्बेले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट कांग्रेसले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्धारा आज जारी शोक विज्ञप्तिमा भनिएको छ । कांग्रेसले प्रजातन्त्र सेनानी आङदम्बेको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । स्व आङ्दम्बेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति कांग्रेसले गहिरो समवेदना प्रकट गरेको छ । —







प्रतिक्रिया