ब्रेकिंग न्युज

सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी



भजनी (कैलाली), १० चैत

टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले वार्षिक लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरे पनि बाँकी चार महिनामा ४० प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने देखिएको हो । कार्यालयले चालु आवमा रु १५ करोड ८४ लाख ४९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा फागुनसम्म रु नौ करोड ६२ लाख ४१ हजार सङ्कलन गरेको छ । कार्यालयले लक्ष्यको सबैभन्दा कम साउनमा रु ६३ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । साउनमा रु एक करोड २८ लाख ९० हजार राजस्व सङ्कलन गर्नुपर्ने भए पनि लक्ष्यको ४९.१७ प्रतिशतमात्रै सङ्कलन भएको कार्यालय प्रमुख चक्रबहादुर सोनीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी मङ्सिरमा रु एक करोड ६७ लाख ७४ हजार अर्थात् लक्ष्यको १३८.५१ प्रतिशत राजस्व सङ्कलन भएको छ । मङ्सिरमा भन्सारले रु एक करोड २१ लाख १० हजार राजस्व सङ्कलनको लक्ष्य पाएको थियो । कार्यालयले बितेको आठ महिनामा चार महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ भने चार महिना लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको छैन । कार्यालयका अनुसार असोज, मङ्सिर, पुस र माघमा लक्ष्यभन्दा बढी राजस्व उठेको छ । बाँकी साउन, भदौ, कात्तिक र फागुनमा लक्ष्य हासिल गर्न सकेको छैन । भन्सार प्रमुख सोनीले चार महिनामा भन्सारले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्ने दाबी गर्नुभयो । “सामानको आयात कतिसम्म हुन्छ भन्ने कुराले राजस्व सङ्कलनको लक्ष्य निर्धारण गर्ने हो”, उहाँले भन्नुभयो, “लगभग अहिलेसम्मको भन्सारबाट आयात हुने सामानको अवस्था हेर्दा लक्ष्य हासिल हुनेमा ढुक्क छौँ ।” उहाँले खुला सिमानाका कारण कैयौँ चोरीपैठारीका घटना हुने हुँदा राजस्व सङ्कलनमा चुनौती देखिएको बताउनुभयो । भन्सार प्रमुख सोनीले भन्सारको स्तरोन्नति भएर क्वारेन्टाइन स्थापना भए करोडमा नभई अर्बमा राजस्व सङ्कलन हुने विश्वास व्यक्त गर्नुभयो । गत वर्ष भन्सारले लक्ष्यको ११९ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । रु १२ करोड सात लाख ३२ हजारको लक्ष्य रहेकामा रु १४ करोड ३७ लाख ८२ लाख राजस्व उठाएको थियो । त्यसअघिका तीन वर्ष भन्सारले लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । आव २०८०÷८१ मा रु १२ करोड एक लाख ४७ हजार लक्ष्य रहेकामा रु १० करोड दुई लाख ४२ हजार सङ्कलन भएको थियो । त्यसैगरी, आव २०७९÷८० मा रु १६ करोड ९४ लाख ४१ हजार राजस्वको लक्ष्य पाएको भन्सार कार्यालयले रु सात करोड ५० लाख ४० हजारमात्रै सङ्कलन गर्न सक्यो । आव २०७८÷७९ मा पनि सत्ती भन्सारले राजस्व लक्ष्य हासिल गर्न सकेन । रु २० करोड ५८ लाख ६१ हजारको लक्ष्य पछ्याएको भन्सार कार्यालयले रु १० करोड ६७ लाख ९३ हजारमात्र सङ्कलन गर्न सक्यो । रु १४ करोड २३ लाख ४८ हजारको लक्ष्य आव २०७७÷७८ मा पाएको भन्सारले रु १५ करोड ८३ लाख सात हजार राजस्व सङ्कलन गरेको थियो । –––

Powered By  Orson Infotech

प्रकाशित : १० चैत्र २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६