खोज–अनुसन्धान

पानी नीति, आपूर्ति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव



काठमाडौँ, १० चैत

खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्ने विज्ञहरुले नेपालको पानी नीति, आपूर्ति पद्धति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव दिनुभएको छ । विश्व पानी दिवस– २०२६ का अवसरमा ‘स्मार्ट वास सोलुसन्स’को आयोजनामा पानी र लैङ्गिक समानता विषयमा सोमबार यहाँ भएको कार्यशालाका वक्ताहरुले यस्तो सुझाव दिनुभएको हो । कार्यक्रममा अन्तरराष्ट्रिय जल व्यवस्थापन प्रतिष्ठानका निर्देशक डा मनोरमा खड्काले नेपालको पानीसम्बन्धी नीति, कार्यक्रम, अभ्यास, परम्परा महिलामैत्री बनाउन नसकिएकाले महिलाहरुको आर्थिक, सामाजिक, शैक्षिक र समग्र विकास प्रभावित भएको बताउनुभयो । उहाँले अझै पनि नेपालका ग्रामीण क्षेत्रमा पानीको आपूर्ति सहज नभएको र खानेपानीदेखि घरेलु काममा उपयोगमा गरिने पानी सङ्कलनको जिम्मेवारी महिलाले लिने प्रचलन देखिएकाले छोरीहरुको पढाइ र अन्य सामाजिक सहभागिताको विषय प्रभावित भएको बताउनुभयो । उहाँले पानी सङ्कलनका क्रममा महिलाहरुले हिंसा पनि सहनु परेको उल्लेख गर्दै भन्नुभयो, “दलित महिलाहरुको स्थिति त भयावह छ । तराईमा होस् कि पहाडमा जातीय विभेद र छुवाछूतको विभेद भनिसाध्य छैन् ।” खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठले घरको काम पुरुष र महिलाले बराबरी गर्ने अभ्यास नहुनु नै महिलाहरुको विकासको बाधक भएको बताउनुभयो । उहाँले केही प्रदेशका केही पालिकाहरुमा विदेशी दातृ निकाय र संंस्थाहरुको सहयोगमा ‘एक घर एक धारा’ अभियान चलेकाले यो पूरा भएमा पानीका कारण रोकिएको महिलाहरुको आर्थिक–सामाजिक विकासको गति अगाडि बढ्न मद्दत पुग्ने बताउनुभयो । कार्यक्रममा जल तथा ऊर्जा आयोगका सिनियर डिभिजनल इञ्जिनियर डा कपिल ज्ञवालीले पानीको बहुपक्षीय उपयोगको महत्वलाई आत्मसात् गरेर आयोगले विश्व पानी दिवस, हिमनदी दिवस र जल तथा मौसम दिवसलाई समेट्ने गरी ‘वास विक’ नै मनाउन थालेको बताउनुभयो । पूर्वमन्त्री गणेश साहले पानी संसारभर सबै वर्ग, पेसा, समुदाय र उमेर समूहका नागरिकका लागि सुख तथा समृद्धिको माध्यम र परिचायक भएको बताउनुभयो । “जसकहाँ पानी बढी छ, त्यो धनी छ । पानी नहुने गरिब छ । पानीले धनी बनाउन सक्छ”, उहाँले भन्नुभयो । उहाँले पानीका सम्बन्धमा सहज उपलब्धता, पहुँचयोग्य र किफायतीपन महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । कार्यक्रमको दोस्रो सत्रमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा सुनिलबाबु श्रेष्ठद्वारा सञ्चालित बहसमा विज्ञ, नीतिनिर्माता, स्थानीय निकायका प्रतिनिधि र खानेपानीका क्षेत्रमा काम गरिरहेका अभ्यासकर्ताहरुले आ–आफ्नो क्षेत्रमा भएका असल अभ्यासका बारेमा बताउनुभएको थियो । कार्यक्रममा स्मार्ट वास सोलुसन्सका अध्यक्ष रामदीप साहले स्वागत मन्तव्य गर्नुभएको थियो भने समापन मन्तव्य वाटर एड, नेपालका कविन्द पुडासैनीले गर्नुभएको थियो । संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि विश्व पानी दिवस मनाउन थालेको हो । यस वर्षको पानी दिवस पानी र महिला विषयमा केन्द्रित छ । यस वर्षको नारा जहाँ ‘पानी प्रवाहित हुन्छ, त्यहाँ समानता बढ्छ’ भन्ने रहेको छ । –––

प्रकाशित : १० चैत्र २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६