कपिलवस्तु, बुद्धभूमि ११ चैत्र
बुद्धभूमि नगरपालिका,नगरकार्यपालिकाको कार्यालय बुडढी कपिलवस्तुले आर्थिक वर्ष २०८१/०८२ मा कुल २८६ वटा योजना तथा खरिद कार्य सञ्चालन गरेको तथ्यांकले देखाएको छ। पालिकाको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदनलाई विश्लेषण गर्दा विकास निर्माणका अधिकांश योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन भएका छन् भने ठेक्का प्रणाली मार्फत सञ्चालन हुने योजनाको संख्या तुलनात्मक रूपमा कम रहेको पाइएको छ ।
कुल सञ्चालन भएका योजना मध्ये २३१ वटा योजना उपभोक्ता समितिबाट कार्यान्वयन गरिएको छ, जुन कुल योजनाको ठूलो हिस्सा हो। यसले स्थानीय स्तरमा जनसहभागिता बढाउने, रोजगारी सिर्जना गर्ने तथा साना तथा मध्यम प्रकृतिका योजनामा समुदायको स्वामित्व सुनिश्चित गर्ने नगरपालिकाको नीति प्रभावकारी रूपमा कार्यान्वयन भएको संकेत गर्दछ।
यस्तै, ५५ वटा योजना ठेक्का (कन्ट्र्याक्ट) प्रणाली मार्फत सञ्चालन गरिएको छ। प्राविधिक जटिलता, उच्च लागत तथा समय सीमाको दृष्टिले संवेदनशील योजना ठेक्का प्रक्रियाबाट अघि बढाइएको देखिन्छ। विशेषगरी १० लाख रुपैयाँ वा सोभन्दा माथिका योजनाहरु ठेक्का प्रक्रियाबाट सञ्चालन गरिएको तथ्यांकले जनाउँछ, जसले ठूला परियोजनामा प्रतिस्पर्धा र गुणस्तर सुनिश्चित गर्न खोजिएको बुझिन्छ ।
विश्लेषणका आधारमा हेर्दा, बुद्धभूमि नगरपालिकाले साना तथा समुदायमा प्रत्यक्ष प्रभाव पार्ने योजनामा उपभोक्ता समितिको प्रयोगलाई प्राथमिकता दिएको छ भने ठूला र प्राविधिक रूपमा जटिल योजनामा ठेक्का प्रणाली अपनाएको देखिन्छ। यो मिश्रित मोडलले विकास कार्यलाई दुवै कोणबाट सन्तुलित बनाउन मद्दत गरेको छ ।
तर, उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनामा पारदर्शिता, प्राविधिक गुणस्तर र अनुगमनको चुनौती रहन सक्ने भएकाले यसतर्फ थप ध्यान दिन आवश्यक देखिन्छ। साथै, ठेक्का प्रणाली मार्फत सञ्चालन हुने योजनामा समयमै सम्पन्नता र लागत नियन्त्रणमा कडाइ गर्नुपर्ने आवश्यकता पनि उत्तिकै देखिन्छ ।
समग्रमा, आर्थिक वर्ष २०८१÷०८२ मा बुद्धभूमि नगरपालिकाले स्थानीय स्रोत, जनसहभागिता र प्रतिस्पर्धात्मक प्रणालीलाई संयोजन गर्दै विकास कार्यलाई अघि बढाएको देखिन्छ, जसले दिगो र प्रभावकारी विकासको आधार तयार पार्ने अपेक्षा गर्न सकिन्छ ।








प्रतिक्रिया