तौलिहवा, कपिलवस्तु १२ चैत्र
आर्थिक वर्ष २०८१/०८२ मा कपिलवस्तु नगरपालिकाको सामाजिक विकासका सूचकहरूले मिश्रित अवस्था देखाएका छन्। केही क्षेत्रमा सकारात्मक सुरुवात भए पनि समग्र सामाजिक रुपान्तरणका लागि अझै उल्लेख्य प्रयास आवश्यक रहेको तथ्यांकले स्पष्ट पारेको छ।
उपलब्ध विवरण अनुसार नगरपालिकाका वडा नं. ९ र १० लाई बालमैत्री स्थानीय शासन घोषणा गरिएको छ। यसले बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण र स्थानीय तहको उत्तरदायित्वमा सकारात्मक संकेत दिएको छ। तर, अन्य वडामा यस्तो अभियान विस्तार हुन नसक्नुले कार्यान्वयनमा असमानता देखिएको छ।
वातावरणमैत्री स्थानीय शासन भने अझै लागू हुन सकेको छैन। दिगो विकासका लागि अत्यन्त महत्वपूर्ण मानिने वातावरण संरक्षणको क्षेत्रमा यो कमजोरीले दीर्घकालीन चुनौती निम्त्याउन सक्ने देखिन्छ।
त्यस्तै, पोषणमैत्री तथा पूर्ण संस्थागत प्रसूति वडा÷पालिका घोषणा नभएको अवस्था सार्वजनिक स्वास्थ्यका दृष्टिले चिन्ताजनक मानिएको छ। विशेषगरी मातृ तथा शिशु स्वास्थ्य सुधारका लागि यी सूचकहरू महत्वपूर्ण हुने भएकाले यसतर्फ थप लगानी र प्राथमिकता आवश्यक देखिन्छ।
छाडा पशु व्यवस्थापनमा भने केही सकारात्मक पहल देखिएको छ। वाणगंगा नगरपालिकासँगको समन्वयमा यसको व्यवस्थापन गरिएको जनाइएको छ, जसले अन्तरपालिकास्तरीय सहकार्यको राम्रो उदाहरण प्रस्तुत गरेको छ।
फोहरमैला व्यवस्थापनको अवस्था भने अझै कमजोर देखिएको छ। आवश्यक पूर्वाधार अभावका कारण अस्थायी रूपमा व्यवस्थापन हुँदै आएको छ, जसले दीर्घकालीन समाधानको अभाव झल्काउँछ।
समग्रमा हेर्दा कपिलवस्तु नगरपालिकाको सामाजिक विकासको गति प्रारम्भिक चरणमै रहेको देखिन्छ। बालमैत्री अभियान जस्ता सकारात्मक पहल भए पनि वातावरण, पोषण र स्वास्थ्यका आधारभूत सूचकहरूमा कमजोर उपस्थिति देखिनु गम्भीर विषय हो। विशेषगरी दिगो विकास लक्ष्य (क्म्न्क) हासिल गर्न यी क्षेत्रहरूमा तीव्र सुधार आवश्यक छ।
सामाजिक विकास केवल पूर्वाधार निर्माणले मात्र सम्भव हुँदैन, यसका लागि समग्र नीति, व्यवहार र जनचेतनामा परिवर्तन आवश्यक हुन्छ। कपिलवस्तु नगरपालिकाले सुरु गरेका सकारात्मक अभ्यासलाई विस्तार गर्दै वातावरण, स्वास्थ्य र सरसफाइ जस्ता आधारभूत क्षेत्रमा दीर्घकालीन रणनीति अवलम्बन गर्न सकेमा मात्र समृद्ध र समावेशी समाज निर्माण सम्भव हुनेछ।








प्रतिक्रिया