जलेश्वर (महोत्तरी), १३ चैत
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुख्र्यौली गाउँमा आज उत्सव मनाइएको छ । महोत्तरीको एकडारा गाउँपालिका–१ स्थित पुख्र्यौली गाउँ एकडारामा गाउँवासीले उत्सव मनाइएको हो । एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले शाह देशकै प्रमुख कार्यकारी पद (प्रधानमन्त्री) मा नियुक्त हुँदा जिल्लामै खुसीयाली मनाइएको बताउनुभयो । “एकडारा–१ मात्र होइन् जिल्लावासीले नै खुसियाली साटासाट गर्दै उत्सव मनाइरहेका छन्”, उहाँले भन्नुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई आज प्रधानमन्त्रीमा नियुक्त गर्नुभएसँगै एकडारावासी एकापसमा रङ, अबिर दलेर, फूलमाला लगाएर, एकापसमा अँगालो मारेर र शुभकामना तथा बधाई आदानप्रदान गरिरहेका एकडारा–१ का वडाध्यक्ष मनोज मण्डलले बताउनुभयो । वडाध्यक्ष मण्डलका अनुसार एकडाराको नाम इतिहासमा दर्ज भएको भन्दै पुख्र्यौली गाउँमा उत्सव मनाइएको छ । “आज एकडारावासी घरघरमा मीठो पकवान पकाएर खाने, खुवाउने गर्दैछन्, एकडारा गाउँभरि र बटुवालाई विभिन्न लड्डु, पेडा तथा मिठाइ बाँड्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री शाहको घर एकडारा–१ मा पर्छ । उक्त घरमा हाल एकडारा गाउँपालिकाको कार्यालय सञ्चालनमा छ । आज साँझ एकडाराको घरघरमा दीपावली मनाउने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष मण्डलले बताउनुभयो ।








प्रतिक्रिया