ब्रेकिंग न्युज

बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय ४९ लाभान्वित



कञ्चनपुर, १४ चैत

जिल्लाको शुक्लाफाँटा नगरपालिका-९ सिसैयामा आज आयोजित निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट २४९ जना स्थानीय लाभान्वित भएका छन् । सर्वसाधारणलाई घरदैलोमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरणको कार्य गरिएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमानन्द भट्टका अनुसार शिविरमा सबैभन्दा बढी १८६ जनाले आँखासम्बन्धी सेवा लिएका छन् । आँखा जाँचसँगै आवश्यक बिरामीलाई निःशुल्क चश्मासमेत वितरण गरिएको छ । त्यसैगरी, १२० जनाले हाडजोर्नी तथा नशासम्बन्धी, ८१ जनाले सामान्य चिकित्सा तथा महिला स्वास्थ्य सेवा र ४८ जनाले नाक, कान, घाँटीसम्बन्धी उपचार सेवा लिएका शाखा प्रमुख भट्टले जानकारी दिनुभयो । शिविरमा आएका बिरामीलाई निःशुल्क औषधि वितरण गर्नुका साथै चिकित्सकीय परामर्श सेवा पनि प्रदान गरिएको उहाँले बताउनुभयो । शुक्लाफाँटा-९ वडाध्यक्ष रमेशबहादुर ऐरका अनुसार वडाका दूरदराजका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले प्रत्येक वर्ष निःशुल्क आँखा उपचार तथा बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्दै आइएको छ । “वडावासीलाई घरदैलोमा चिकित्सकीय सेवा उपलब्ध गराई टाढाका अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने लक्ष्यका साथ शिविर आयोजना गरिएको हो”, उहाँले भन्नुभयो । यसपटक वडा नं ९ सँगै वडा नं ८ र ११ का बासिन्दाले पनि शिविरबाट स्वास्थ्य सेवा लिएका वडाध्यक्ष ऐरले बताउनुभयो । गाउँमा विशेषज्ञ चिकित्सकीय सेवा पाउँदा विशेषगरी विपन्न परिवार, ज्येष्ठ नागरिक र अशक्त बिरामीलाई राहत मिलेको उहाँको भनाइ छ । स्थानीय रोशनबहादुर ऐरले गाउँमा स्वास्थ्य सेवा पाउँदा आर्थिक तथा समयको बचत भएको बताउँदै यस्ता शिविरले ग्रामीण भेगका नागरिकलाई उपचारमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार टाढाको अस्पताल पुग्न नसक्ने नागरिकका लागि यो शिविर प्रभावकारी भएको छ ।

प्रकाशित : १४ चैत्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६