तौलिहवा, कपिलवस्तु १५ चैत्र
कपिलवस्तु नगरपालिका नगरकार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा वितरण गरेको सामाजिक सुरक्षा भत्ताको प्रभावकारी वितरणले कमजोर वर्गको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुगेको नगरपालिकाको सार्वजनिक गरेको समिक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै समाजका विभिन्न लक्षित वर्गको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। वृद्ध वृद्धा, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित तथा लोपोन्मुख समुदायलाई लक्षित गरी वितरण गरिएको भत्ताले सामाजिक न्याय र समावेशी विकासको आधार मजबुत बनाएको देखिन्छ।
उपलब्ध तथ्यांकअनुसार यस आर्थिक वर्षमा सबैभन्दा बढी लाभग्राही जेष्ठ नागरिक रहेका छन्। कुल ४०४० जेष्ठ नागरिकलाई रु. १८ करोड ६८ लाख ७८ हजार ६१५ बराबरको भत्ता वितरण गरिएको छ। यसले वृद्ध वृद्धाको सम्मानजनक जीवनयापनमा टेवा पु¥याएको मात्र होइन, राज्यको सामाजिक दायित्वप्रति प्रतिबद्धता पनि उजागर गरेको छ।
त्यसैगरी, असहाय एकल महिला तर्फ १४७९ जनालाई रु. ४ करोड ६० लाख ७५ हजार ६५७ वितरण गरिएको छ। यो कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा सामाजिक रूपमा संवेदनशील अवस्थामा रहेका महिलाको जीवनमा राहत प्रदान गरेको छ।
दलित समुदायका ४६६ लाभग्राहीलाई रु. १ करोड ४७ लाख ३४ हजार ९५ वितरण गरिएको छ भने लोपोन्मुख समुदायका १४० जनालाई रु. ६६ लाख ३२ हजार ३७८ उपलब्ध गराइएको छ। यी तथ्यांकहरूले समावेशी विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको पुष्टि गर्छ ।
त्यस्तै, अपाङ्गता भएका व्यक्ति ५६३ जनालाई रु. १ करोड ८३ लाख ६९ हजार ६२० वितरण गरिएको छ, जसले उनीहरूको दैनिक जीवन व्यवस्थापनमा सहयोग पु¥याएको छ।
बालबालिकाको पोषण सुधारलाई लक्षित गर्दै पोषण भत्ता अन्तर्गत ७५०४ जनालाई रु. ४ करोड ५६ लाख ५२ हजार २८४ वितरण गरिएको छ। यस कार्यक्रमले दीर्घकालीन मानव विकासका सूचकहरू सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, गम्भीर प्रकृतिका रोगका बिरामी ७४ जनालाई मासिक उपचार खर्च बापत रु. ४० लाख ४५ हजार उपलब्ध गराइएको छ, जसले उपचारमा आर्थिक अभावका कारण आउने कठिनाइ न्यूनीकरण गर्न मद्दत गरेको स्पष्ट संग विश्लेषण गर्न सकिन्छ ।
समग्रमा हेर्दा कपिलवस्तु नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिकतामा राख्दै ठूलो रकम लक्षित वर्गसम्म पु¥याएको देखिन्छ। विशेषगरी जेष्ठ नागरिक र पोषण भत्ता तर्फको ठूलो हिस्सा खर्च हुनु जनसंख्या संरचना र सामाजिक आवश्यकतासँग मेल खाने संकेत हो।
तर, लाभग्राहीको संख्याको तुलनामा रकम वितरणको समानुपातिकता, सेवा पहुँचको प्रभावकारिता जस्ता पक्षमा निरन्तर अनुगमन आवश्यक देखिन्छ।
सामाजिक सुरक्षा भत्ता केवल आर्थिक सहयोग मात्र नभई सामाजिक न्याय, समानता र मानव मर्यादाको प्रत्याभूति हो। स्थानीय तहले यसलाई पारदर्शी, प्रभावकारी र लक्षित बनाउँदै लगेमा समृद्ध र समावेशी समाज निर्माणतर्फ ठोस योगदान पुग्ने निश्चित छ।








प्रतिक्रिया