देश

विषादी प्रयोगमा सावधानी नअपनाउँदा क्यान्सर र मिर्गौला रोगी बढ्दै



पाटन (ललितपुर), १५ चैत

तरकारी उत्पादनका समयमा गरिने तरकारीमा हुने अत्यधिक विषादी प्रयोगमा सावधानी नअपनाउँदा क्यान्सर र मिर्गाैला रोगी बढ्दै गएको भन्दै सरोकारवालाले सचेतता जगाउनुपर्नेमा जोड दिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले आज यहाँ आयोजना गरेको पोषण प्रवद्र्धनअन्तर्गत विषादी न्यूनीकरणसम्बन्धी समन्वयात्मक बैठकमा धारणा राख्नुहुँदै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले तरकारी उत्पादनका समयमा विषादी प्रयोग गर्दा सचेत नहुँदा क्यान्सर, मिर्गाैलालगायतका रोगीको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले प्रभावकारी रुपमा सचेतना जगाउनु आवश्यक रहेकामा जोड दिनुभयो । “विषादी प्रयोगमा सचेत नहुँदा हरेक जटिल किसिमका रोगको समस्या भएका धेरै बिरामीका लागि सिफारिस गर्नुपरेको छ, यसको प्रमुख कारण विषादीको अत्यधिक प्रयोग हो, त्यसको असरबाट बच्ने उपाय थाहा नहुँदा समस्या परेको छ”, उहाँले भन्नुभयो । डा गेलालले पोषण प्रवद्र्धनअन्तर्गत विषादी न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रमा परिणाममुखी कार्यका लागि ध्यान दिनुपर्ने भन्दै यसका लागि स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाइनुपर्छ भन्नुभयो । “उत्पादन बढाउन विषादी प्रयोग गर्नुस्, तर विषादीको प्रयोग र उत्पादित तरकारीको उपयोगमा सुरक्षित हुनुस् भनेर सचेतता जगाउनु आवश्यक छ, विषादीको असर न्यूनीकरण भएपछि मात्रै तरकारीउपयोग गर्नुस् भनेर सचेतना जगाउन ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा घिमिरे ढुङ्गेलले धेरै सचेतना जगाउनुपर्ने अवस्था छ भन्दै कृषक, उपभोक्ता र व्यवसायीबीच समन्वय तथा सचेतना जगाउन स्थानीय तहलाई नै बढी ध्यान दिनुपर्छ भन्नेमा जोड दिनुभयो । “जिल्ला प्रशासन कार्यालयले धेरै विषयमा ध्यान दिनुपर्ने हुँदा प्रभावकारी काम हुन सकिरहेको छैन, विषादीका बारेमा कोरोना महामारीका समयमा नागरिकलाई अलि सचेत गराउन सकिएको थियो, सचेतना जगाउन सबै सरोकारवाला कार्यालयले संयुक्तरूपमा काम गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । सहायक प्रजिअ घिमिरेले विषादीको उपयोग अनुगमनको पक्षलाई बलियो बनाउन स्थानीय तहसँग मिलेर काम गर्नुपर्नेमा जोड दिँदै भोलिको पुस्तालाई सचेत गराउन विद्यालय तहमा गएर सचेतना जगाउन आवश्यक छ भन्नुभयो । उहाँले पूर्वाधार, परीक्षण प्रयोगशाला र शिक्षाका लागि काम गर्न स्थानीय तहलाई नै प्रभावकारी बनाउनुपर्छ भन्नुभयो । पोषण प्रवद्र्धन तथा कृषि क्षेत्रमा विषादीको न्यूनीकरणका उपायका बारेमा प्रस्तुतीकरण गर्नुहुँदै कृषि विकास कार्यालय ललितपुरका बाली संरक्षण अधिकृत रितिक्षा पौडेलले विषादीको उपयोग खतरा भएको बताउँदै बीउको उपचार र कीटनाशक कार्यका लागि प्रयोग गरिने विषादीले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने हुँदा अत्यन्तै सचेत हुनुपर्नेमा जोड दिनुभयो । “नेपालमा १९९० को दशकदेखि नै विषादी उपयोग हुँदै आएको थियो, तराई र उपत्यकामा धेरै विषादी उपयोग हुँदै आएको छ, तरकारी बालीमा धेरै विषादी प्रयोग हुने गरेको तथ्याङ्क छ, नेपाल विश्वमा कम विषादी प्रयोग गर्ने देश भए पनि सुरक्षित प्रयोगमा ध्यान नदिँदा त्यसको असर बढी पर्ने गरेको छ”, उहाँले भन्नुभयो । नेपालमा शुन्य दशमलव ३९६ किलोग्राम प्रतिहेक्टर विषादी प्रयोग हुने गरेको जानकारी गराउँदै बाली संरक्षण अधिकृत पौडेलले विषादीलाई औषधिका रुपमा परिभाषित गर्दै प्रयोग गर्ने कार्यले समस्या सिर्जना भएको बताउनुभयो । विषादी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष गणेश बानियाँले स्थानीय तहको प्राविधिक जनशक्तिले किसानसम्म पुगेर सचेतना जगाउने कार्यमा ध्यान दिनुपर्ने बताउँदै किसानलाई आइपिएम खेती पद्धतिलाई प्रोत्साहन गर्न जोड दिनुपर्ने धारणा राख्नुभयो । –––

Powered By  Orson Infotech

प्रकाशित : १५ चैत्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६